पर्खाल भत्काएर बुटवलमा खोलियो सडक निकास

बुटवल, साउन ५ गते । बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्न गरी निकास खोलेको छ । लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने गरी निकास निकालेको हो ।

सडक सञ्चालनमा आएपछि बुटवलको नेपालगञ्ज रोडबाट कालिकापथ जानेआउने निकास सहज हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
मेयर पाण्डेयका अनुसार अस्पताल र कालिकामन्दिरको क्षेत्रमा आवश्यक पर्खाल बुटवल उपमहानगरपालिकाले लगाउने र सडक पक्की गर्ने तयारी अगाडि बढेको छ ।

कालिकापथ र नेपालगञ्ज रोड जोडिएपछि सवारी चाप पनि कम हुनेछ । सो क्षेत्रमा डोजर लगाएर बुटवल उपमहानगरपालिकाले सडक सञ्चालनमा ल्याएको हो ।
४१ फुटको सडक बनाउने गरी सो क्षेत्रमा रहेका संरचना भत्काइएको हो ।

कालिकापथ जान आउन सहज हुने र मुख्य सडकको चाप कम गर्न सहयोग पुग्ने स्थानीयले बताएका छन् ।