बुटवलका पूर्व उपप्रमुखको निधन, बुटवल उपमहानगरद्दारा शोक व्यक्त

बुटवल, साउन ७ गते । बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख एवं नेपाली कांग्रेसका नेता रामप्रसाद खनालको निधन भएको छ । नेपाली कांगे्रस बुटवलको लामो समय सभापति रहेका खनालको उपचारको क्रममा बुटवलको तीनाउ अस्पतालमा आइतबार बिहान निधन भएको हो ।

पाल्पाको कुशुम खोलामा जन्मेका ८३ वर्षिय खनालका ४ छोरा २ छोरी र २ श्रीमती छन् । खनाल अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको थियो । स्व. खनालको गत असार १३ गते प्रोष्टेटको अपरेसन गरिएको थियोे । स्व. रामप्रसाद खनाल २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट तत्कालिन बुटवल नगरपालिकाको उपप्रमुख भएर २०५३ सालसम्म जनप्रतिनिधिको रुपमा काम गरेका थिए ।२०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह र २०४६ सालको आन्दोलनमा बुटवलमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

यस्तै बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधनमा बुटवल उपमहानगरपालिकाले आईतबार अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक व्यक्त गरेको छ । बुटवल उपमहानगरपालिकाले शोकसभा गरेको छ । शोकसभामा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले पूर्व उपप्रमुख खनालको निधनले बुटवलले एक सादगी नेता गुमाएको भन्दै दुख व्यक्त गरे ।

उपप्रमुख सावित्रादेवी अर्यालले पूर्व उपप्रमुख खनालको निधनले बुटवलले एक ईमान्दार अभिावक गुमाएको भन्दै दुख व्यक्त गरिन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवलले पूर्व उपप्रमुख खनाललाई सधै सम्झिईरहने बताए ।खनालको निधनमा शोक व्यक्त गर्दै आईतबार दिउंसो १ बजेदेखि बुटवल उपमहानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो ।

स्व. खनालको आइतबार नै हिन्दु संस्कार अनुसार बुटवलको मैनाबरको स्थानीय घाटमा दाहासंस्कार गरिने कांगे्रस बुटवलका नगर सचिव छायां पोखरेलले जानकारी गराएका छन् ।
कांगे्रस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खांण र पूर्व सभापति अब्दुल रज्जाक लगायतका नेताहरुले पार्टीको झण्डा ओडाएर अन्तिम श्रदाञ्जली अर्पण गरेपछि दाहासंस्कार गरिनेसमेत नयां दिशालाइ नगर सचिव पोखरेलले बताए ।