कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइयो

बुटवल, साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवस देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो । विभिन्न कम्युनिष्ट पार्टी र कम्युनिष्ट पार्टीका भातृ संगठनले विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाएका हुन् ।

पुष्पलालको अगुवाईमा विसं २००६ सालमा भारतको कोलकतामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । कम्युनिष्ट पार्टी स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेका थिए । पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका छ ।
नेता पुष्पलाल पञ्चायत कालमा निर्वासनमा पर्नुभएको थियो । पुष्पलालको जन्म विसं. १९८१ असार १५ गते रामेछापमा भएको थियो, भने २०३५ साल साउन ७ गते भारतमा निधन भएको हो । निर्वासनका बेला भारतमा निधन हुनुभएका पुष्पलालको शव नेपाल ल्याउन तत्कालीन सरकारले अनुमति दिएको थिएन ।कम्युनिष्ट आन्दोलनको घोषणापत्रलाई नेपालीमा पहिलो पटक अनुवाद गरेका थिए ।

स्व. पुष्पलाल वैचारिकरुपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित छन् । जनमतका हिसाबले नेपालमा कम्युनिष्टहरुको संख्या बढी भएपनि विभिन्न टुक्रामा विभाजन हुंदा कम्युनिष्ट पार्टी स्थापनाको पुष्पलाले देखेका सपना पुराहुन सकेका छैनन् । कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्ति र गरिब एवं गरिखाने वर्गको मुक्तिको अभियान अझै पनि उत्तिकै महत्वपूर्ण छ ।

नेपाली क्रान्तिका न्यूनतम कार्यक्रम नयां जनवादी क्रान्ति र अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्य राखेर कम्युनिष्ट पार्टी स्थापाना गर्ने पुष्पलालको लक्ष्य थियो । नेपाल कम्युनिष् पार्टीका संस्थापक महासचिव पुष्पलालको नाममा सरकारले हुलाक टिकट समेत निकालेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा मसाल, नेकपालगायत सबै कम्युनिष्ट घटकहरुले आआफ्नै तरिकाले पुष्पलालको ४५ औं स्मृति दिवस मनाएका छन् ।

नेकपा एमाले रुपन्देहीले तिलोत्तमाको बनवाटिकास्थित पुष्पलाल स्मृति केन्द्रमा वृक्षरोपाण गरेको छ । विभिन्न जातका २ सय बढी विरुवा रोपी पुष्पलाल स्मृति दिवस मनाईएको एमाले रुपन्देही अध्यष तेजेन्द्र केसीले बताएका छन् ।