बुटवलमा बहुतले पार्किङ भवन बनाउन सम्झौता

 बुटवल, साउन ८ गते । बुटवलमा बहुतले पार्किङ भवन बनाउनेका लागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको छ । बुटवलमा बढ्दो सवारीको चाप र पार्किङ व्यवस्थित गर्न बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच लगानीका लागि सम्झौता भएको हो । पार्किङ भवन निर्माणका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

पार्किङ भवन निर्माण योजनाका लागि ३० करोड ४० लाख रुपैयां अनुमान गरिएको छ । पार्किङ भवन निर्माण भएपछि बुटवलको मुख्य बजार क्षेत्रको पार्किङ सोही भवनमा गरिने र मुख्य सडक क्षेत्रको पार्किङ हट्ने नगर प्रमुख पाण्डेयले बताए । पार्किङ भवन बनेपछि बुटवलमा सडकमा गाडी पार्किङ गर्नुपर्ने बाध्यता हट्ने र बुटवल व्यवस्थित हुने उनले बताए ।
मेयर पाण्डेयका अनुसार पार्किङका लागि भवन बनेपछि घरबाहिरको सडकमा गाडी राख्नेहरुले निश्चित शुल्क तिरेर पार्किङ भवनमा गाडी राख्न सक्ने भएकाले मुख्य सडक र भित्री सडकमा हुने पार्किङ हट्ने छ ।

बुटवल ९ लुम्बिनी बस टर्मिनल परिसरमा निर्माण हुने आधुनिक बहुतले पार्किङ भवन निर्माणका लागि ७० प्रतिशत लगानी नगर विकास कोषले गर्नेछ भने बांकी ३० प्रतिशत बुटवल उपमहानगरपालिकाले लगानी गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी गराए ।

१५ असोज २०७९ मा पार्किङ भवन निर्माणका लागि परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीसंग सम्झौता भइ प्रतिवेदन पेश गरेपछि लगानीका लागि नगर विकास कोषसंग सम्झौता भएको हो । ७ तले पार्किङ भवनमा एकसाथ करीब २ सय हलुका सवारी पार्किङ गर्न सकिने बुटवल उपमहानगरपालिकाका योजना महाशाखाका निर्देशक सुमन श्रेष्ठले जानकारी गराउनुभयो ।