आफ्नै गाउंपालिबाट वडाध्यक्ष कारवाहीमा


बुटवल, साउन १५ गते । पाल्पा बगनासकाली गाउंपालिकाले आफ्नै वडा अध्यक्षलाई २ लाख बढी जरिवाना गरेको छ । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् चोरी निकासी गरेको आरोपमा गाउंपालिकाले कारवाही स्वरुप जरिवाना गरेको हो ।

नदीजन्य पद्वार्थ उत्खनने गरी घाटगद्वी र बेचबिखन गरेको पुष्टि भएपछि वडा नं ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीलाई २ लाख १० हजार जरिवाना गरिएको गाउंपालिकाले बताएको छ । वडाध्यक्ष अधिकारीले वडा नम्बर ६ यम्घा दर्पुकको मचेटाघाटबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको पुष्टि भएपछि गत असार ३० गते बसेको गाउंकार्यपालिका बैठकले जरिवाना गर्ने निर्णय गरेको गाउंपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताइन ।
बगनासकाली गाउंपालिकाको आर्थिक ऐन २०७९ को दफा २५ ले अवैध ढंगले नदिजन्य पदार्थको उत्खनन् तथा बेच बिखन गरेको पाईएमा प्रतिटेक्टर ५ हजारका दरले जरिवाना लिने ब्यवस्था गरेको छ । वडाध्यक्ष अधिकारीले बन्द रहेको घाटबाट अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा चोरी निकासी गरी ४२ टेक्टर नदीजन्य पदार्थ दर्पुक क्षेत्रको विभिन्न तीन स्थानमा डम्पीङ गरी राखेको भेटिएको गाउंपालिका अध्यक्ष चिदीले बताइन् ।

ऐनमा भएको ब्यवस्था अनुसार प्रतिटेक्टर ५ हजारका दरले हुन आउने एकमुष्ट रकम २ लाख दश हजार जरिवाना गरिएको पालिकाले जनाएको छ । अध्यक्ष अधिकारीमाथि बगनासकाली गाउंपालिका ६ यम्घाको मचेटाघाटबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरी सोही वडाको दर्पुक क्षेत्रको विभिन्न तीन स्थानमा जम्मा गरी राखेको र दर्पुककै नाली र सडक स्तरोन्नति योजनामा अवैध नदीजन्य पर्दाथ प्रयोग गरेको स्थानीयले आरोप लगाएका छन् । गाउंपालिकाले वडाअध्यक्ष अधिकारीसंगै परिलेक कन्स्ट्रक्सनका संचालक दामोदर गैरेलाईसमेत ७५ हजार जरिवाना गर्ने निर्णय गरेको छ ।