परासीको प्रतापपुरमा प्रहरी र विद्यार्थीवीच झडप, प्रहरीद्दारा अश्रु ग्याँस प्रहार

नवलपरासी, साउन २५ गते । पश्चिम नवलपरासीको प्रतापपुरको त्रिभुवन माध्यमिक विद्यालय र त्रिभुवन क्याम्पसबीच कक्षा कोठा उपलब्धका विषयमा भएको विवादले उग्ररुप लिंदा प्रहरी र विद्यार्थीवीच झडप भएको छ । गाउँपालिका घेर्न पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीले ५ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।
प्रतापपुरको त्रिभुवन मावि र त्रिभुवन क्याम्पसबीच कक्षा कोठा उपलब्धका विषयमा विवाद हुँदै आएको थियो ।

विद्यालय प्रशासनले कक्षा कोठा अपुग भएको भन्दै दिउँसो सञ्चालन हुने कक्षा ११ र १२ को पढाइका लागि कोठा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग मागको थियो । तर क्याम्पस प्रशासनले भने क्याम्पस क्युएए प्राप्त गर्ने प्रक्रियामा रहेकाले त्रिभुवन विश्वविद्यालयको मापदण्ड अनुसार कक्षा कोठा उपलब्ध गराउन नसकिने जनाउँदै आएको छ ।
कक्षा कोठा उपलब्ध नगराएको भन्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको निर्देशनमा नगर प्रहरीसहितका केही जनप्रतिनिधि पुगेर बुधबार क्याम्पस मुल गेटको ताला फोडेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अमुल पाण्डेले बताए ।

ताला फोडेपछि आक्रोशित विद्यार्थीले बिहीबार गाउँपालिका घेराउ गर्न पुगेका थिए । सोही क्रममा प्रहरी र विद्यार्थीबीच विवादहुँदा झडप भएको हो । उक्त क्याम्पस भारतीय दुतावासको सहयोगमा निर्माण भएको हो । दुई छुट्टाछुट्टै भवन रहेको विद्यालय र क्याम्पस एउटै परिसरमा सञ्चालनमा छ । क्याम्पस निर्माण भएको जग्गा विद्यालयको रहेको र पालिका मातहत रहेकाले कक्षा कोठा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गरेको गाउँपालिका अध्यक्ष यादवले बताए । ‘

भारतीय दुतावासले भवन हस्तान्तरण गर्दासमेत विद्यालयलाई गरेको छ । केही दिनका लागि कक्षा ११ र १२ को पढाई सञ्चालनका लागि माग्दा नदिएकाले पढाई सुचारु गर्न ताला फोडेको हो ।

गाउँपालिकामा ताला लगाउन पुगेका विद्यार्थीलाई रोक्दा ढुंगा प्रहार हुन थालेपछि स्थिति नियन्त्रण लिन ५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए । झडपका क्रममा ५ जना प्रहरी सामान्य घाइते भएको र ३÷४ जना विद्यार्थी घाइते भएको पाण्डले बताए ।