गुल्मीको मुसिकोटका वडा अध्यक्ष मृत भेटिए

बुटवल, भदौ २ गते । गुल्मीको मुसिकोट नगरपालिका–१ पौदी अमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । शनिबार बिहान करिब पांच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले बताउनुभएको छ । वडा अध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुंदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन, मलाई माफ गरे ।

घर परिवार, साथिभाइ सुभचिन्तक सबैसंग माफी चाहान्छु, अल बिदा भनेर घिमिरेले स्टाटस लेखेका छन् । शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार अहिले घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको छ । नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर अध्यक्षसमेत थिए घिमिरे ।