१३ बुंदे घोषणापत्र जारी गर्दै मिडिया सम्मेलन सम्पन्न

बुटवल, भदौ २ गते । १३ बुंदे घोषणापत्र जारी गर्दै बुटवलमा जारी मिडिया सम्मेलन सम्पन्न भएको छ । प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा बुटवलमा भएको प्रदेश स्तरीय मिडिया सम्मेलनले १३ बुंदे वसन्तपुर घोषणापत्र जारी गरेको हो ।

लुम्बिनी प्रदेशका मिडियाका सञ्चालकहरुको सहभागितामा सम्पन्न उक्त मिडिया सम्मेलनले पाल्पाको वसन्तपुरबाट १३ बुंदे बसन्तपुर घोषणा पत्र २०८० सार्वजनिक गरेको हो ।
घोषणापत्रमा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न र मिडिया हाउसहरुको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुलाई मिडिया सवलीकरणका कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ । सरकारले प्रदान गर्ने विज्ञापन समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिने व्यवस्था मिलाउन माग गरिएको छ ।

सरकारले सञ्चार गृहलाई दिंदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत वृद्धि गर्न, रेडियो र टेलिभिजनको लाइसेन्स नवीकरण व्यवस्थालाई सरल र सहज बनाउन, दर्ता विना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानूनी दायरामा ल्याउन, संघीय शासन पद्धतिको मर्मलाई ध्यानमा राखेर प्रेस पास वितरण गर्न, लोककल्याणकारी विज्ञापन सम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा व्याज अनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई विशेष प्राथमिकताका साथ सहयोग गर्नुपर्ने माग छन् । सम्मेलनले तीन महिनाभित्र गुल्मीमा प्रथम अधिवेशन गर्ने निर्णय गरेको संघका अध्यक्ष नवराज कुँवरले जानकारी गराउनुभयो ।