सीआईबीले लियो माधव र बाबुरामको बयान
काठमाडौं, भदौ ४ गते । ललिता निवास जग्गा प्रकरणको विषयमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बयान लिएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार टोखास्थित निवासमै बोलाएर भट्टराईले सीआईबी प्रमुख एवम् एआईजी किरण बज्राचार्यलाई ललिता निवास प्रकरणबारे जानकारी गराएका हुन् । नेपालसँग गएराति बयान लिइएको हो ।
डा भट्टराईले करिब ४५ मिनेट लगाएर आफू प्रधानमन्त्री भएका बेला ललिता निवासबारे तत्कालीन क्याबिनेटबाट भएका नीतिगत निर्णयको विवरण एआईजी बज्राचार्यलाई दिएका थिए।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णयमाथि अनुसन्धान गर्न आदेश दिएपछि तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुलेको हो ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालको बयान नलिएको भन्दै सरकारको चौतर्फी बिरोध भैरहेको थियो ।