अन्पा लुम्बिनीको भेला , अध्यक्षमा रामप्रसाद गैरे पाल्पाली

बुटवल, भदौ ९ गते । अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा) को लुम्बिनी प्रदेशको भेला भएको छ । शुक्रबार भर्चुअल माध्यमबाट सम्पन्न भेलाले रामप्रसाद गैरै पाल्पाली अध्यक्ष रहेको १३ सदस्य रहेको समिति गठन गरेको छ ।

जीवनारायण खनालको अध्यक्षता, अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा) केन्द्रिय अध्यक्ष समीर सिंहको प्रमुख आथिति र मनिराम खनालको सञ्चालनमा सम्पन्न भेलाले नयां नेतृत्वसहित समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सुरेशकुमार पाण्डे (दाङ), सचिवमा कल्पना पौडेल जिज्ञासु (बाँके), सहसचिव गुरु कुमाल बुलबुल (दाङ) र कोषाध्यक्षमा धु्रव गिरी (प्युठान) रहेका छन् ।

त्यस्तै, सदस्यहरूमा मनिराम खनाल (दाङ), रेम राना (नवलरासी पश्चिम), कमलप्रसाद घिमिरे (अर्घाखाँची), गोपालप्रसाद भट्टराई (अर्घाखाँची), जगदीश ढकाल (बाँके), उमकला खनाल (दाङ), सागर बेलबासे (रुपन्देही), योगेन्द्र काउचा (गुल्मी), शशि सापकोटा (कपिलवस्तु) र शिव शाही (रुकुम पूर्व) रहेका छन् । त्यस्तै, पांचै जना पदाधिकारीको सचिवालयसमेत गठन गरिएको छ ।

उक्त भेलामा बोल्दै अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा) का अध्यष समीर सिंहले विभेद र असमानताको अन्त्य हुन नसकेको बताउंदै कला र साहित्यको माध्यामबाट कम्युनिष्ट राज्य व्यवस्था स्थापना गर्न कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।

वामपन्थी नेता सुरेश थापाले समाजमा भएको शोषण दमन, अन्या अत्याचार, भ्रष्टाचार, महङी तथा कालोबजारी, विदेशी साम्राज्यवादी हस्तक्षेप र एमसीसीविरुद्व लेखनको माध्यामबाट लेखक तथा साहित्यकारहरुलाई खवरदारी गर्न सुझाव दिए ।

भेलामा अन्पाका उपाध्यक्ष रामदेव पाण्डे, महासचिव भीष्म जोशी, कम्युनिस्ट सङ््ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डे, प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेल, अखिल नेपाल कानुन व्यवसायी सङ्घका महासचिव लक्ष्मणदेव पाण्डे, अखिल नेपाल शिक्षक सङ्घका महासचिव चक्रपाणि पौडेल, अखिल (छैठौं) का महासचिव सुवास संयम, राजमो केन्द्रीय सदस्य गणेश आचार्यलगायतले आआफ्ना भनाइ राखेका थिए ।

नवनिर्वाचित अध्यक्ष रामप्रसाद गैरै पाल्पालीले कला र साहित्यको क्षेत्रबाट बैचारिक आन्दोलनलाई अगाडी बढाउने गरी काम गर्ने प्रतिवद्दता जनाएका छन् ।