नेपालको सत्ता दलाल पूंजीवादको कब्जामा – विप्लब

बुटवल, भदौ १२ गते । नेकपाका महासचिव विप्लव सीले नेपाललाई साम्राज्यवाद र दलाल पूंजीको चंगुलबाट मुक्त गर्नुपर्ने बताएका छन् । साम्राज्यवाद र दलाल पूंजीको चंगुलबाट नेपाललाई मुक्त गर्न संसद र सडकबाट खवरदारी गर्नुपर्ने र त्यसविरुद्व अब समाजवादी मोर्चा आन्दोलनमा जाने चेतावनी दिए । समाजवादी मोर्चा नेपाल लुम्बिनी प्रदेशले मंगलबार बुटवलमा आयोजना गरेको सन्देश सभामा बोल्दै देशको हितमा सबै शक्ति एक जुट हुनुपर्छ भने

उनले साम्राज्यवादी शक्ति नेपालमा कम्युनिष्ट आन्दोलन सिध्याउने गरी अनेक प्रकारका षडेयन्त्रहरु नेपालभित्रै भैरहेको बताए । नेपालको सत्ता दलाल पंूजीवादले कब्जा गरेको उल्लेख गर्दै पार्टी र नेताहरुलाई घेरा हालेर नेपाललाई असफल बनाउने दलाल पूंजीवाद भएको उनको तर्क छ ।

जनताको सत्ता स्थापना गर्न नेपाली विशेषताको समाजवादमा जानुपर्ने र त्यसको नेतृत्व अब समाजवादी मोर्चाले गर्ने दावी गरे । उनले नेपालको हितमा सहयोगका लागि संसारसंग सहकार्य गर्न सकिने र नेपाल र नेपालीको हितविपरित विकासको नाममा एमसीसी स्वीकार नहुने बताए ।

समाजवादी मोर्चा नेपालको लागि अग्रगामी मोर्चा भएको दावी गर्दै उनले भने – कुनैपनि व्यक्तिको चाहानामा समाजवादी मोर्चा गठन भएको होइन । उहांले देश र जनताको पक्षमा रिक्स मोलेर काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।