एमाले लुम्बिनीको नेतृत्वका लागि मतगणना शुरु, ९६५ मत खसे

बुटवल, भदौ १९ गते । नेकपा एमाले लुम्बिनीको बुटवलमा जारी अधिवेशनबाट सहमति नहुंदा नेतृत्व चयनका लागि भएको मतदान पश्चात अहिले मतगणना शुरु भएको छ । अहिले मतगणनाको काम जारी छ । शनिबारदेखि जारी प्रथम अधिवेशनबाट सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वानचन भएको हो ।

सहमतिबाट नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएपनि अध्यक्ष पदका आकांक्षी पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरि रिजालबीच सहमति जुट्न नसकेपछि निर्वाचन भएको हो । नेताहरुले सहमतिका लागि प्रयास गरेपनि गुटबन्दीका कारण सहमति नभएपछि निर्वाचन भएको हो । नेतृत्वका लागि सहमति नभएकै कारण दुई दिनका लागि आयोजना भएको अधिवेशन थप दुई दिन लम्बियो ।

गुटको अन्त्य भएको घोषणा गरेको एमालेको प्रदेश अधिवेशनमा दुई समूहमा विभाजित भएर अध्यक्ष पदका उम्मेदवारले प्यानसहित प्रचार– प्रसार सुरु गरेका थिए ।
शनिबार उद्घाटन सत्रमै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सहमतिका लागि जुटेका नेताहरु नै गुटबन्दी भन्दामाथि उठ्न नसकेपछि सहमति हुन नसकेको कतिपय एमालेका नेता कार्यकर्ताले बताए ।

एमाले भित्र मौलाउंदे गएको गुटका कारण ओलीको वोली बुटवलमा बिनेक । सचिव पदमा बाहेक अन्य सबै पदाधिकारी पदमा निर्वाचन समितिका प्रमुख अधिकृत हरिप्रसाद भण्डारीले बताए । सचिव पदमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका प्रमुख अधिकृत हरिप्रसाद भण्डारीले जानकारी गराए ।

अध्यक्षमा कंडेल र रिजालसहित उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र विश्वराज बराल (अनुप), बांकेका पूजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली प्रतिस्पर्धामा छन् । उपसचिव पुरुषतर्फ एक पदका लागि रुकुम पूर्वका उपेन्द्रलाल कामी, रोल्पाका पूर्ण बुढामगर र बांकेका दुर्गाप्रसाद थारु (चौधरी) प्रतिस्पर्धामा छन् । त्यस्तै, उपसचिव महिला तर्फ एक पदका लागि बांकेकी आरती पौडेल, बसन्ती अधिकारी र बर्दियाकी लिला राना मगर छन ।उम्मेदवारी दिएकामध्ये कंडेल प्यानलबाट उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र उपसचिव पुरुषमा दुर्गाबहादुर चौधरी र महिलामा लिला राना मगर रहेका छन । त्यस्तै, रिजाल प्यानलबाट उपाध्यक्षमा रुपन्देहीका विश्वराज बराल, उपसचिव पुरुषतर्फ रोल्पाका पूर्ण बुढामगर र महिलातर्फ बांकेकी बसन्ती अधिकारी छन ।

पदाधिकारमा ५ पदका लागि १३ जनाको उम्मेदवारी परेको थियो । उपाध्यक्षमा प्यानल बाहिरबाट बांकेका पूजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली प्रतिस्पर्धामा छन् । त्यस्तै, उपसचिव पुरुषमा रुकुम पूर्वका उपेन्द्रलाल कामी र महिला उपसचिवमा बांकेकी आरती पौडेलले प्यानल बाहिरबाट प्रतिस्पर्धामा छन् । २ सय जना सदस्यका लागि ३ सय ५ जना चुनावी प्रतिस्पर्धा गरेका छन् ।

अधिवेशनका लागि १ हजार ४ जना प्रतिनिधि भएपनि ९६५ मत खसेको निर्वाचन समितिले बताएको छ ।