एमाले लुम्बिनीको अध्यक्षमा २ मत बढी ल्याएर राधाकृष्ण कंडेल विजयी

बुटवल,भदौ २० गते । एमाले लुम्बिनी प्रदेशको प्रचम अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भएका छन् । अध्यक्षका प्रत्यासी हरि रिजालले भन्दा २ मत बढी ल्याएर कंडेल अध्यक्ष भएका हुन् ।
नेतृत्का लागि सहमति नभएपनि निर्वाचनको प्रकृयाबाट कंडेल अध्यक्षमा विजयी भएका हुन् । मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भए ।

विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका छन्। पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पांच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ ।

यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो ।त्यस्तै गरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन् । उनीसँगै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याएका थिए । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भएका छन् । उनीसँग दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याएका थिए ।

महिला उपसचिवमा लिला रानामगर ३५२ मत ल्याएर विजयी भएकी छन् । उनीसँग बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याएका थिए ।यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । उनले प्रतिस्पर्धी विष्णुराज बीसीलाई २०७ मत अन्तरले पराजित गरेका हुन् ।मंगलबार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।

विजयी उम्मेदारहरुलाई आज बिहान शपथग्रहणको कार्यक्रम राखिएको निर्वाचन मण्डलका सचिव सूर्य थापाले जानकारी गराएका छन् ।
पदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कंडेल समूहका हुन् । नेतृत्व छनौटका लागि पार्टीका उपाध्यक्ष विष्णु पौडेल समूहले कंडेल र महासचिव शंकर पोखरेल समूहले रिजाललाई साथ थियो । पौडेल र पोखरेल समूहबाटै अलग– अलग प्यानल बनाएर उम्मेदवारी दिएका थिए ।