माओवादीमा गुटबन्दी मौलाउंदै, बेलायत जान रोकिए महासचिव

बुटवल, भदौ २० गते । नेकपा माओवादी केन्द्रमा गुटबन्दी मैलाउंदै गएको छ । माओवादीमा कुन हदसम्म मौलाएको रहेछ भन्ने कुरा पछिल्लो गतिविधिले छताछुल्ल पारेको छ ।

महाधिवेशन भएको करिब एक वर्षपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुरुङलाई महासचिव घोषणा गरेपछि एउटा समूह रुष्ट बनेको छ ।

सोही असन्तुष्टि महासचिव गुरुङको एउटा कार्यक्रम नै रद्द गरेर प्रकट भएको छ ।

यही शनिबार (२३ भदौ) माओवादीको बेलायतस्थित प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्चको वार्षिक कार्यक्रम हुंदै थियो । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा निम्त्याइएका थिए महासचिव गुरुङ ।

तर, बेलायत जान ठिक्क परेका गुरुङलाई रोक्न प्रवास कमिटीका अध्यक्ष ओम शर्माले केही दिनअघि मात्रै कार्यक्रम नै क्यान्सिल गरिदिएका छन् ।

ओम शर्मा माओवादीका उपमहासचिव जनार्दन शर्मा निकट हुन् । देव गुरुङलाई महासचिव बनाएदेखि नै जनार्दन अध्यक्ष प्रचण्डसँग रुष्ट छन् ।

जनप्रगतिशील मञ्च बेलायतका अध्यक्ष मानबहादुर गुरुङले आफूहरुलाई प्रवास कमिटीबाट कार्यक्रम रोक्न निर्देशन आएपछि वार्षिक कार्यक्रम रोकेको बताए ।

केन्द्रीय महासचिव जाने कार्यक्रम प्रदेश कमिटीको अध्यक्षले रोकेपछि माओवादीभित्र भने खैलाबैला मच्चिएको छ ।