तिलोत्तममा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालन हुंदै

बुटवल, भदौ २२ गते । रुपन्देहीको तिलोत्तमा ४ मा रहेको जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालन हुने भएको छ । भोली हुने जेष्ठ नागरिक मिलन केन्द्रको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन हुंदै छ । उक्त साधारण सभा तथा अधिवेशनको शुभ अवसरमा जेष्ठ नागरिक मिलन केन्द्रको शुभारम्भ गरिने छ ।
साधारण सभा तथा अधिवेशनको अवसरमा २५ जना जेष्ठ नागरिकलाई संरक्षण दिएर जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गरिने केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले जानकारी गराए । पत्रकार सम्मेलन गरी जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले हाल ५० जना जेष्ठ नागरिकलाइ संरक्षण गर्न सकिने र भविष्यमा १ सय जना जेष्ठ नागरिकलाई संरक्षण दिने उद्वेश्य रहेको पत्रकार सम्मेलन गरी जानकारी गराए ।


ऋङेश्वर धाम परिसरमा जेष्ठ नागरिकलाई संरक्षण गर्नका लागि भवन निर्माण गरिएको छ । ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई राख्नका लागि भवन निर्माण गरिएपनि अहिलेसम्म २० जना जेष्ठ नागरिकले आफ्नो नाम दर्ता गरी सम्पर्कमा आउनुभएको अध्यक्ष पाण्डेले बताए ।

जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि ५ करोडको अक्ष्यकोष बनाउने लक्ष्य भएपनि अहिलेसम्म अक्ष्य कोषमा जम्मा १२ लाख ५० हजार संकलन भएको छ । जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि मासिक ४ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

ज्ञान सीप कलाको आदान प्रदान, सभ्य समाजमा अग्रजको सम्मान भन्ने मुल नाराका साथ जेष्ठ नागरिक मिलन केन्द्रको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन हुदै छ । साभारण सभा तथा अधिवेशनको प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उक्त साधारण सभा तथा अधिवेशनको अवसरमा स्व. खेमराज पुनको शालिक अनावरण गरिने र स्वास्थ्य शिविरको आयोजनासमेत गरिएको अध्यक्ष पाण्डेले बताए । देवदह मेडिकल कलेजको सहयोगमा स्वास्थ्य शिविर गरिने छ ।

जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेको अध्यक्षता र सचिव हरिप्रसाद कडेलको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।