साम्राज्यवादको अवसान अवश्यम्भावी छ

रामबहादुर बुढा अत्याचारीहरुको हालत के हुन्छ ? अफगानिस्थानबाट सिक्नुपर्छ । इराकबाट सिक्नुपर्छ । शोभियत संघ समर्थित अफगानी सरकार ढाल्न अमेरिकाले आतंकबादी तालिबानी जन्मायो ।

तालिबानीहरुलाई सत्तामा पुराउनु उनीहरु अमेरिकाकै लागि घाँडो बनेपछि अमेरिकीहरुले तालीवानीहरुलाई पनि सत्ताच्युत गरे । सत्ता च्युत भएपनि उनीहरु जनताको वीचमा पसे ।

उनीहरुले आफू खेल्ने ठाउँ बनाउदै बिस्तार गर्दै गए । आज भिएतनामपछि दोस्रो लज्जास्पद घटना अमेरिकाले बेहोर्दैछ, हरूवा कुकुर पुच्छर लुकाएर भागे जस्तै अफगानिस्तानबाट सेना फिर्ता गरेर भाग्दैछ ।

दीर्घकालीन राजनीतिक सोंच भएकाहरु धैर्यतापूर्बक लड्दा रहेछन । इराक – अमेरिकी युद्धमा इराकको बगदाद कब्जा गर्न अमेरिकासहित साम्राज्यवादीहरुलाई एक महिना लागेको थियो । शत्रु सेना बग्दाद प्रवेश गर्दा इराकी सेनाहरु सबै बर्दी त्यागेर सिभिलियन भैसकेका थिए । सजिलै राजधानी छिर्न दिएर इराकीहरु अमेरिकी सेनालाई घेरा हाल्दै मार्दै गर्न थाले ।

अहिले इराकी सम्सदले अमेरिकी सेना फिर्ता गर्ने प्रस्ताव पारित गरिसकेको छ । शान्ती स्थापना भैसकेको छैन । एअरपोर्ट लगायतका ठाउहरुमा गरेको लगानी उठिसकेको छैन भन्दै अमेरिकी सेना इराकबाट फर्किन अस्वीकार गर्दैछ । तर नफर्की सुखै छैन ।

अफगानिस्तान र इराक घटनालाई अलग थलगरुपमा हैन अहिलेको समग्र विश्व राजनीतिको एक अङ्गको रुपमा बुझ्नु पर्दछ । बिगतमा अमेरिकी र रुसी हरुको द्वन्द्व स्थल बनेको थियो ।

अहिले चिनियाहरु त्यहा आफ्नो प्रभाब बढाउदै छन् । भारत अगाडि सर्दै छ । साम्राज्यवादी कथित प्रजातन्त्रको सट्टामा आउने कुनैपनि धार्मिक अतिवाद जनताको मुक्तिको सही बिकल्प हैन । प्रगतिशील बैज्ञानिक बिचारधाराका आधारमा निर्माण हुने मिहेनतकस जनताको ब्यबस्था नै सही विकल्प हुने छ ।