देउखुरी दौड–२०८० (५किमि) प्रतियोगिता सम्पन्न

पुरुषमा कार्कि र महिलामा चौधरीलाई उपाधि

 

देउखुरी(दाङ)।
लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आइतवार लुम्बिनी प्रदेश खेलकुद परिषदले देउखुरी दौड–२०८० (५किमि) प्रतियोगिता सम्पन्न गरेको छ । प्रदेश राजधानी देउखुरीमा आयोजित ५ किलोमिटर दौड प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक समारोहकावीच गरेका थिए ।
पहिलो पटक आयोजित दौड प्रतियोगिताको पुरुषतर्फको उपाधि आर्मीका टंक कार्कीले र महिलातर्फको उपाधि एपीएफकी सिमा चौधरीले हात पारेका छन । प्रतियोगितामा ३ सय वढी राष्ट्रिय तथा स्थानिय धावकहरु सहभागी भएका थिए । प्रतियोगिता प्रदेशसभा भवनबाट सुरु भएको थियो ।


प्रतियोगिताका पुरुषतर्फका विजेता कार्किले १५.२७.०६ सेकेन्डमा दौड पूरा गरेका हुन भने नागेश्वर अहिरले १५.२९.०९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भएका छन् । यसैगरी मिलन कार्कीले १५.३३.०९ सेकेन्डमा दौड पूरा गरी तेस्रो, सन्जय सिंह १५.४६.०३ सेकेन्डमा दूरी पार गर्दै चौथो, सन्तोष अहिर १५.५७.०७ सेकेन्डमा दूरी पार गर्दै पाँचौ स्थान हासिल गरे । प्रतियोगितामा मोहनदेव जोशी, प्रेम बस्नेत, सुमन बुढा, अजय पाण्डे, बिकास बिक, विवश बुढा क्रमशः दशौ स्थानमा रहेका थिए ।


यसैगरी महिलातर्फको उपाधि एपीएफकी सिमा चौधरीले हात पारिन । उनले सो दुरी १९.३९.०४ सेकेन्डमा पूरा गरिन् । नेपाल पुलिसकी सुमित्रा चौधरीले २०.०१.०९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भईन् भने कमला ओलीले २०.२८.०६ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भईन् । मोतिकला डाँगीले २१.१२.०७ सेकेन्डमा दुरी पार गर्दै चौथो तथा निर्मला चौधरीले २१.१७.०९ सेकेन्डमा दूरी पार गर्दै पाँचौ स्थान हासिल गरे । यसैगरी प्रतियोगितामा क्रमशः अरुणिका चौधरी, अनिशा चौधरी, आयुषा गिरी, प्रियङ्का साउद, उमा चौधरी दशौ स्थानसम्म हासिल गरिन् ।
विजेताहरुलाई लुम्बिनी प्रदेश परिसारमा आयोजित पुरस्कार वितरण कार्यक्रममा पुरुष र महिला दुबै विधामा प्रथम हुने खेलाडीले नगद २१ हजार, दोस्रोले नगद १७ हजार, तेस्रोले नगद १३ हजार, चौथोले नगद ९ हजार, पाँचौ ५ हजार, छैठौ स्थान हासिल गर्ने खेलाडीले नगद ३ हजार रुपैयाँबाट पुरस्कृत गरिएको थियो ।


विजेता, उपविजेता खेलाडीहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, गृहमन्त्री सन्तोष पाण्डेय, प्रदेश सरकारका सचिव राधिका आर्याल तथा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जय प्रकाश भट्टराईले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रमको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले खेलकुदको विकासका लागि प्रदेश सरकारले नितिगत रुपमा प्राथमकितामा राखेको बताउदै खेलाडीलाई खेलेर बाच्न सकिन्छ भन्ने भावनाको विकास गर्नु पर्नेमा जोड दिनु भयो ।
मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशका खेलाडीले राष्ट्रिय मात्र होइन अन्तराष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सक्नु पर्ने कुरामा जोड दिदै त्यसका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा प्रदेश गृहमन्त्री सन्तोष पाण्डेले युवाहरुलाई खेलमा आकर्षित गराउन प्रदेश सरकारले प्रोत्साहानका कामहरु अगाडी बढाएको बताउदै त्यसमा सबैको सहयोग जरुरी रहेको बताउनु भयो ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकास भट्टराईले खेलक्द क्षेत्र वृह्त र राष्ट्रको पहिचान गराउने क्षेत्र भएका कारण त्यसलाई प्रदेशले प्राथमिकतामा राखेको बताउदै पछिल्ला दिनमा लुम्विनी प्रदेशमा खेलको स्तरबृद्धि भएको बताउनु भएको थियो ।