बुटवलमा मगर भाषा प्रशिक्षण

बुटवल, चैत १४ गते । बुटवलमा मगर भाषा तथा लिपिबारे प्रशिक्षण शुरु भएको छ । मगरहरुको भाषा संरक्षण तथा सम्वद्र्वन गर्ने उद्वेश्यले प्रशिक्षण शुरु भएको हो ।
बुटवल उपमहानगरपालिकाको सहयोग र नेपाल मगर संघ बुटवलको आयोजनामा शुरु भएको मगर भाषा प्रशिक्षण १५ दिनसम्म चल्ने छ । उक्त मगर भाषा प्रशिक्षणको बुधबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।


सोही कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले सबै जातजातीको भाषा, संस्कृति र संस्कार संरक्षणका लागि बुटवल उपमहानगरपालिकाले सहयोग गर्ने बताए । आफ्नो भाषा, संस्कृति संरक्षण र सम्वद्र्वनका लागि मगर समूदाय सक्रिय हुनुपर्ने बताउंदै उनले भने – बुटवल उपमहानगरपालिका सहयोगी बन्छ ।

नेपाल मगर संघकी उपमहासचिव कमला थापा मगरले राज्यको गलत नीति र हेपहा व्यवहारले मगरहरुको भाषा तथा लिपि कमजोर भएको बताइन । उनले स्कुलको पाठ्यक्रममा मगर भाषा समावेश गर्न राज्यसंग माग गर्दै सबै जातजातीको भाषा, संस्कृति संरक्षण र सम्वद्र्वन गर्ने दायित्व राज्यको हो, राज्य आफ्नो दायित्वबाट भाग्न मिल्दैन उनले भनिन् ।

नेपाल मगर संघ बुटवल नगर अध्यक्ष बसन्ती साठीघरे मगरको अध्यक्षता, सचिव हेमन्त बुढाथोकीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ रुपन्देही उपाध्यक्ष खड्कबहादुर बारघरे, संघका सल्लाहकार किसनबहादुर थापा मगर, लुमबहादुर बारघरे लगायतले बोल्दै मगर भाषा संरक्षण तथा सम्वद्र्वनका लागि वजेट छुट्टाउन तीन तहकार सरकारसंग माग गरे । उनीहरुले १५ दिने भाषा प्रशिक्षण नपुग्ने बताउंदै कम्तीमा ६ महिले प्रशिषण चाहिने र त्यसका लागि बुटवल उपमहानगरापालिकालाई बजेटको व्यवस्था गर्न माग गरे ।

आशिष शूर्यवंसी, सोनु थापा र नारायण गाहाले प्रशिक्षण दिने कार्यक्रममा ८० जना सहभागिता नेपाल मगर संघ बुटवल नगर अध्यक्ष बसन्ती साठी घरे मगरले जानकारी गराइन् ।