गाईगोरुका लागि आहार सहयोग

विष्णु घिमिरे

बुटवल, चैत २१ गते । बुटवलको शिवनगर सामुदायिक वन उपभोक्ता समूहले नन्दिनी गौशालामा रहेका गाईगोरुका लागि आहार दिएको छ । बुधबार गौशालामा रहेका गाइगोरुले खाने दाना दिएर गौशालालाई सहयोग गरिएको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको मुख्य चुनौतीका रूपमा रहेको छाडा चौपाया व्यवस्थापनको काम सुरू भएको बताए । उनले बजार क्षेत्रबाट करीब ७ सय गाईगोरु गौशालामा ल्याइएको बताउंदै यो अभियानलाई निरन्तरता दिने प्रतिवद्वता जनाए ।
उपप्रमुख सावित्रादेवी अर्यालले नगरलाई थप व्यवस्थित र सुन्दर बनाउन छाडा चौपायाको दीर्घकालिन व्यवस्थापन थालिएको बताउंदै यो अभियानलाई सहयोग गर्न सबैलाई आग्रह गरिन् ।
शिवनगर सामुदायिक वनका अध्यक्ष मनोज गौचनले बुटवल उपमहानगरपालिकाले सुरु गरेको अभियानमा सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए ।
कार्यक्रममा शिवनगर सामुदायिक वनका उपाध्यक्ष दिपेन्द्र पराजुली, सहसचिव शिव अधिकारी, कोषाध्यक्ष रविन केसी, पूर्व अध्यक्ष उमाकान्त बस्याल, बुटवल उपमहानगरपालिका ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनी, वडा नं ९ का अध्यक्ष प्रदिपकुमार श्रेष्ठ, वडा नं २ का अध्यक्ष सुनिल शाक्य, कार्यपालिका सदस्य राधा पौडेल, वसन्ती वि.क, वनका सचिव श्यामकला आचार्य लगायतले बोल्दै सडमा रहेका छाडा चौपायांलाई गौशालामा वयवस्थापन गरी बुटवललाई सुन्दर शहर बनाउने अभियानमा सबैलाई एकसाथ जुट्न आग्रह गरेका छन् ।