पाल्पा –पालुङ मैनादी सम्पर्क समाजको आयोजनामा बुटवलमा तीज मिलन


बुटवल, भदौ १५ गते । पाल्पा पालुङ्ग मैनादी रुपन्देही सम्पर्क समाजले हरि तालिका तीजको अवसरमा तीज मिलन कार्यक्रम गरेको छ । पाल्पाको पालुङ मैनादीबाट रुपन्देहीमा अस्थायी वा स्थायी रुपमा बसोवास गर्दै आएकाहरुबीच तीज मिलन कार्यक्रम आयोजना गरिएको हो । महिला अगुवा मधुकला कुँवरको प्रमुख आतिथ्यता तीज मिलन तथा दरखाने कार्यक्रम भएको हो । 

आफ्नो जन्मभूमि छोडेर कर्मका लागि रुपन्देहीको बुटवल, भैरहवा लगायतका ठाउंमा वासोवास गर्दै आएका पालुङ मैनादीकाहरुको सहभागिता थियो । तीजको मैहिमा र तीजको खास संस्कृति तथा संस्कार अनुसार आयोजना गरिएको तीज मिलन कार्यक्रममा महिला दिदी बहिनीहरु र पुरष दाजुभाईले संगसंगै तीजका गीग गाएर नांचगान गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै कुँवरले तीज पर्वलाई भड्किलो र खर्चिलो बनाउन नहुने बताउंदै तीजका नाममा गलत संस्कार बसाल्न नहुने बताइन । उनले तीज पर्व महिला दिदी बहिनीहरुको महत्वपूर्ण पर्व भएकाले महिला दिदी बहिनीहरुलाई एकै ठाउँमा जम्मा गरेर गीत मार्फत दुःखसुख साटासाट गर्नु नै तीजको मौलिकता हो भनिन् । तीजका नाममा महिनौसम्म दरखाएर फजुल खर्च गर्ने प्रचलन बढेकाले यसलाई सबैले रोक्नुपर्ने बताउंदै सम्पर्क समाजहरुले हिजो आफ्ना गाउंठाउंमा गाइने गीतहरु गाउनुपर्ने र भड्किला खालका गीत गाएर तीजको मौलिकतामाथि प्रश्न चिन्ह खडा गर्न नहुनेमा जोड दिइन ।

पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी धुव्र कुँवरले तीजको मौलिकता हराउंदै गएकोप्रति चिन्ता गरे । उनले पुरनो तीजका भाकाहरु हराउंदै जांदा तीज भड्किलो र उत्ताउलो हुंदा हाम्रो संस्कार हराउंदै गएकाले अब जीतको मौलिकता बचाउनु पर्नेमा जोड दिए।
अध्यक्ष पदम नेपालले तीज महिला दिदीबहिनीहरुको महान पर्व भएकाले जन्मघर पालुङ्ग मैनादी जान नसकेका दिदीबहिनीहरुलाई एकै स्थानमा राखेर दर खुवाएर रमाउन पाउंदा खुशी लागेको बताए । समाजका निवर्तमान अध्यक्ष अशोक कुँवरले समाजको पृष्ठभूमिबारे जानकारी गराउंदै तीजका पुराना भाका र संस्कार, संस्कृति जोगाउने दायित्व हामी सबैको हो भने ।
समाजका सल्लाहकार रणबहादुर कुँवरले आपसी सद्भाव र एकताबद्ध हुनका लागि सम्पर्क समाज आवश्यक भएको बताए । उनले तीजको आफ्नै संस्कार, संस्कृति र मौलिकता भएकाले हाम्ले हाम्रो मौलिकता र संस्कार भुल्न नहुने बताउंदै तीजको नाममा भित्रिएको विकृतिविरुद्व हामीले आफ्ना मौलिकताका गीतहरु गाउनु पर्ने बताए ।
सम्पर्क समाजले ज्येष्ठ नागरिक सम्मानस्वरुप समाजका अग्रज तथा समाजसेवी व्यक्तित्व विभिषण कुँवर र रघुनाथ नेपाललाई सम्मान गरेको छ ।
तीजमिलन कार्यक्रममा आर्थिक सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा समाजका सल्लाहकारहरु कमल नेपाल, गोविन्द बहादुर कुँवर, कृष्ण बहादुर कुँवर, विष्णु आचार्यलगायतको सहभागिता रहेको थियो ।
सम्पर्क समाजका अध्यक्ष पदम नेपालको अध्यक्षता, समाजका वरिष्ठ उपाध्यक्ष मिनप्रसाद नेपाल बिमलको स्वागत र सचिव शंकर विकेको सञ्चालनमा भएको थियो ।






















