दाङमा “बिना माटो” कृषि क्रान्ति

बुटवल । दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरका २८ बर्षीय विवेक अधिकारीले जडिबुटी जन्य बहुमूल्य वनस्पति केशर खेती शुरु गरेका छन् । वातावरणीय असन्तुलनमा पनि केशर खेती गरेर सफलता देखाएका अधिकारी अहिले गरे के हुँदैन भन्ने गतिलो उदाहरणको पात्र बनेका छन् । आफ्नै घरको छतमा खेती गरेका उनले केसरलाई चाहिने वातावरण तयार गरी खेती थालेका छन् ।

नेपालका उच्च हिमाली जिल्लाहरु जुम्ला, डोल्पा र इलाममा केशरको व्यावसायिक खेतीका लागि प्रचुर सम्भावना रहेपनि फस्टाउन नसकेको बेला आफुले पढेको ज्ञानलाई व्यवहारमा उतार्न अधिकारीले मेहनतसँगै लाखौं रुपैयाँ लगानी गरेका छन् । भारतको कस्मिर क्षेत्रमा अत्यधिक खेती हुने केशर स्वास्थ्य सम्बन्धि लाभदायी हूने भएकाले यसको बजार मुल्य प्रतिकिलो दश हजार रुपैयाँ पर्ने केसर खेती किसान अधिकारीको भनाई छ ।

टनेलभित्र कृत्रिम वातावरण निर्माण गरी केशर खेती गरेका उनले एरोपोलिङ टेक्निक अर्थात स्वाइललेस (बिना माटो) विधि अपनाएर खेती गरेका छन् । चार बर्षअघि भारतको पञ्जावबाट बिएस्सीएजीको पढाई पुरा गरेपछि घर फर्किएका अधिकारीले केसरको व्यावसायिक खेतीमा लागेको बताउँछन् । केशरमा पोलिक्रोआइट, क्रोएसिन, पिक्रोक्रोसिन सेफ्रानिन, लाइकोजिन जस्ता रासायनिक तत्व पाइने उनले बताए ।

छिमेकी देश भारतवाट तीन सय केजी केशरको गाना (कम्स) प्रति केजी तीन हजारका दरले खरिद गरी ल्याएको बताउँदै बिगत ७ महिना अगाडि रोपिएको विरुवाले यतिबेला फूल्न थालेपछि आफुले गरेको कामले सफलता पाएकोमा खुसी व्यक्त गरे ।

आफ्नै ‘सन राइज कृषी फार्म’ मार्फत् ब्राण्डिङ गरी आफ्नो उत्पादनलाई बेच्ने सोँचमा रहेको उनले बताए । बर्षमा एक पटक असोजदेखि कार्तिकसम्म मात्रै सिजन हुने भएकाले अन्य कामसँगै यसको व्यावसायिक खेती गर्न सकिने जनाए । उनले भने, यसको स्वदेश तथा विदेशमा राम्रो माग छ, अहिले भारतमा पनि यसको माग अनुसार उत्पादन हुन सकेको छैन् । बजार मूल्य पनि राम्रै छ । यसलाई थप व्यवस्थित रुपमा ठूलो क्षेत्रफलमा व्यावसायिक खेती गर्न सकेमा आर्थिक क्रान्ति, रोजगारी अवसर र लगानीको सदुपयोग हुनेछ ।

नेपालमा केसरको आयात बार्षिक दुई हजारदेखि २ हजार पाँच सय किलो हुने र न्यून खेती भएको युट्युब हेरेर जानकारी लिएपछि आफुले यसको बजारीकरण र बजार मुल्य पनि राम्रै देखेर घरको छतबाट शुरु गरेको बताउँदै हाल ६४ वटा क्यारेटमा लगाएको केसरबाट यो बर्ष सात सय ग्राम उत्पादन हुने अनुमान गरेको छु । स्थानीयस्तर बाटै मलाई यति ग्राम चाहियो भनेर माग आइरहेको छ । उनले भने ।

घोराही उपमहानगरपालिका वडा १० का वडाध्यक्ष दीपक पाण्डेले आफ्नो वडामा एउटा युवाले त्रृतिम वातावरण तयार गरी गरिएको केसर खेती आफैमा सम्मानजनक रहेको बताए । वडाध्यक्ष पाण्डेले भने, जुन केसर खेती हाम्रो यो ठाउँमा वातावरणको हिसाबमा सम्भव थिएन, त्यही कुरा सम्भव गरेर देखाउने वडाबासी युवाप्रति म र वडा कार्यालय तर्फबाट थप यस्ता युवाहरुको ज्ञानलाई व्यवहारमा उतार्ने गरी प्रोत्साहन गर्न लागि पर्ने छौं ।

केसर खेती गरेका विवेकका बुवा निमकान्त अधिकारीले अवैध बाटो हुँदै अवैधरुपमा ५०-६० लाख रुपैयाँ लगाएर ठूलो चुनौतिका बाबजुत आफ्ना छोराछोरीलाई अमेरिका लगायतका ठाउँमा पठाउनु भन्दा कृषि र अन्य प्राविधिक शिक्षा पढाएर स्वदेशमै अवसर दिनुपर्ने सुझाउँछन् । उनले आफु आफ्नो छोराले किताबमा पढेको कुरालाई व्यवहारमा गरेर देखाएकोप्रति आफु खुसी भएको बताउँदै थप विस्तारका लागि लगानी लगाइदिनेमा तयार रहेको बताए ।

समुद्र सतहबाट करिव १५ सयदेखि २५ सय मिटरको उचाइमा यसको खेती राम्रो मानिन्छ । ओसिलो वातावरण, बालुवा मिश्रित चिम्टाईलो माटो र प्राङ्गरिक मल यो खेतीको मुख्य आधार हो । तुसारो तथा हुस्सुले नष्ट नगरोस् भनेर एन्टिफग् पाउडर र दाउराका काला कोइला पनि पिठो बनाएर माटोमा प्रयोग गर्न सकिने कृषि बिज्ञ शिवप्रसाद अर्याल बताउँछन् ।

माटोलाई हलुका डिल वा ड्याङ बनाएर त्यसमाथि केशरको बीज करिव चारदेखि ६ इञ्चसम्मको फरकमा रोपिन्छ । साउन महिनाको शुरुवातमा यो रोपिन्छ भने असोजको मध्यतिर फूल टिप्न तयार हुन्छ । जब फूलबाट राता केस्रालाई अलग गरिन्छ, फूलका यिनै राता केस्रा नै विश्वबजारमा अति मूल्यवान औषधिका रुपमा बिक्री हुने अर्यालले बताए ।

यसको खेतीबाट केही रोजगारी सृजना हुन्छ भने यसले देशकै आर्थिक वृद्धिदरमा पनि सहयोग पुर्याउने पर्यावरण संरक्षण एवं जडिबुटी उत्पादन प्रर्वद्धनका अभियन्ता डिल्ली बहादुर रावतले बताए । उनले थपे, यस किसिमको खेतीका लागि सरकारले पनि चासो र लगानी अभिवृद्धिमा ध्यान दिनुपर्छ ।

केशरको उपयोगिता र गुण धेरै रहेको पाईएको छ । केशरलाई दुध, मह वा पानीमा घोलेर सेवन गर्न सकिन्छ । जसको सेवनले मधुमेह नियन्त्रणे, गर्भवती महिलाले सेवन गर्नाले बच्चा तन्दुरुस्त जन्मिने, शरीरमा ऊर्जा दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, झाडा पखालामा उपयोगी, प्रसुति प्रसवपीडा कम गराउने, नियमित सेवनले अनुहारमा चमकपना ल्याउने र पाचन प्रणाली ठीक गराउने जस्ता प्रत्यक्ष फाइदा गर्ने विज्ञहरु बताउँछन् ।

विश्वबजारमा केशरको मूल्य अत्यधिक छ । प्रति केजी आठदेखि दश लाखसम्म नेपाली रुपैयाँ मूल्य पर्ने केशरको व्यवसाय र व्यवसायिक खेती नेपालमा प्रायः शून्य छ ।

यसको खेतीका निम्ति उपयुक्त जमिन र वातावरण नेपालमा भरपुर छ । तर, हालसम्म सरकारले कुनै चासो नदिएको कारण नेपालमा केशर खेतीको उत्पादन हुन सकेको छैन् । नेपालजस्तो निम्न अर्थतन्त्र भएको मुलुकमा यस्तो बहुमूल्य र गुणकारी केशरको खेती हुन जरुरी देखिन्छ ।

२०१९ सालमा टिष्टुङमा खेती परिक्षण गरिएको, २०४० सालमा तत्कालिन शाही सरकारले जुम्लामा केशर खेती गर्न निर्देशन दिएपछि २०४४ सालमा जुम्लामा केशरको परिक्षण खेती गरिएको, २०४६ सालमा डोल्पामा पनि परिक्षण खेती प्रारम्भ, २०४६ र २०४७ सालमा ललितपुरको गोदाबारीमा परिक्षण खेती गरिएको इतिहास छ ।

दुर्लभ र महंगो जडीबुटी मानिने केशर (स्याफरोन) को जुम्लामा व्यावसायिक खेती शुरु गरिएको छ । पर्यटन व्यवसायमा लामो अनुभव बटुलेका रुकुमका शरद मल्ल र जुम्लाका व्यवसायी गोविन्दबहादुर शाहीले संयुक्त रुपमा चन्दननाथ नगरपालिका–८ मा जिएसएम केशर खेती तथा उत्पादन उद्योगले केशर खेतीको व्यावसायिक उत्पादनको शूरुवात गरेको थियो ।