अक्सफोर्ड माविमा अन्तर्राष्ट्रिय खाना महोत्सव र लाइभ कन्सर्ट

बुटवल, माघ ११ गते । बुटवलको अक्सफोर्ड माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय खाना महोत्सव तथा लाइभ कन्सर्ट आयोजना गरियो । अक्सफोर्ड माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले हरेक वर्ष खाना महोत्सव आयोजना गर्दै आएको छ ।

खाना महोत्सवको तेस्रो संस्करण अन्तरगत शुक्रबार विद्यालयको सहयोगमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट अध्यनरत विद्यार्थीले नेपालसहित सात देशका खानका परिकारहरु प्रदर्शन गरेका थिए ।

खाना महोत्सव कार्यक्रममा विभिन्न ७ ओटा देशका खानाका स्टलहरू रहेका थिए । जसमा नेपाल, भारत, चाइना, इटाली, युए, मेक्सिको र इन्डोनेसियामा बन्ने खानाका विभिन्न परिकारहरू बिद्यार्थीले सात वटा स्टलमा प्रर्दशन गरेका थिए । एक दिने उक्त कार्यक्रममा करिब ४ हजारको उपस्थिति रहेको र १२ लाख बराबरको आर्थिक कारोबार भएको प्राध्यापक उमंग पौडेलले जानकारी गराए ।

विद्यालयका प्राचार्य दिनेश भुसालले विगतदेखि नै अक्सफोर्डले व्यवहारिक, सीपमूलक, संस्कार र प्रविधिसंग जोडेर विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने गरिएको बताए । विद्यार्थीलाई कक्षा कोठा भन्दा बाहिरको ज्ञान, सीप दिनका लागि आफुहरुले सबै प्रकारका सीप सिकाएर दक्ष बनाउने उद्देश्यले विभिन्न बिद्यामा दक्ष बनाउने अभियानलाई निरन्तरता दिने गरिएको प्राचार्य दिनेशभुसालले बताए ।
प्राध्यापक सुमन भुसालले फुड फेस्टिवल कार्यक्रम गर्नुको प्रमुख कारण विद्यालयमा सिकेको सीप र ज्ञानलाई विद्यार्थीले व्यवहारिक रुपमा आफ्नो जीवनमा प्रयोगगरुन भन्ने उद्देश्य रहेको बताए ।

२०५९ सालमा स्थापना भएको अक्सफोर्ड माध्यमिक विद्यालयमा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील प्रबुद्ध व्यक्तिहरुको संलग्नता रहेको छ । हाल विद्यालयमा कक्षा ११ र १२ मा १५५० विद्यार्थी अध्ययनरत विद्यार्थी मध्ये म्यानेजमेन्ट पढ्ने विद्यार्थीको संख्या ४५० रहेको शिक्षक कृष्ण पाण्डयेले जानकारी गराए ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए । विभिन्न ब्यान्डहरूले आफ्नो प्रस्तुती देखाएका थिए। अन्तर्राष्ट्रिय खाना महोत्सव कार्यक्रमबाट नाफा भएको रकम विद्यार्थीले सामाजिक उत्तरदायित्व अन्तरगत कमजोर अवस्था भएका व्यक्ति वा संस्थालाई सहयोग गर्ने विद्यालयका प्राध्यापक सुमन भुसालले बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख मनोज मरासिनी,क्याम्पस अध्यक्ष अजित खनाल, दिप बोडिङ्ग स्कुलका प्राचार्य टिकाराम न्यौपाने, स्कलर्स होमका प्राचार्य बाबुराम बन्जाडे पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, ड्रिम इन्टरनेशनल होटलका अध्यक्ष गोपाल राना, साहिल्याण्ड होटलका अध्यक्ष नहकुल शाहि,बुटवल उपमहानगरपालिका शिक्षा शाखाका टिकाराम शर्मा,यादव पौडेल,विद्यालय ब्यबस्थापन समिति अध्यक्ष ललित खरेललगायतको सहभागिता रहेको थियोे ।

कार्यक्रमको संयोजन प्राध्यापकद्वय उमंग ौडेल र विवेक न्यौपानेले गरेका थिए । विद्यालयका प्राचार्य दिनेश भुसालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।