कृषि छोड्न पनि सकेका छैनन्, सन्तुष्टि पनि छैनन् टिकाराम

श्यामलाल पोखरेल
बुटवल, चैत १९ गते । रुपन्देही शुद्वोधन ३ सखुवानीका टिकाराम अधिकारीको पुर्खौली पेशा कृषि हो । आफ्नै पुर्खौली पेशा कृषिलाई मुख्य पेशा बनाएका अधिकारी अहिले उमेरले ६० वर्ष पुगेका छन् । जान्नी भएपछि कृषिमा लागेका अधिकारी जीवभनभर अरु पेशामा लागेनन् । आफ्नै कृषि पेशामा रमाए । २०४६ सालमा भारतको बनारसबाट एसएलसी पास गरेका टिकाराम कृषिमा अनुभव बटुलेका पाका र अनुभबी कृषक मानिन्छन् ।

लामो समयदेखि बाउबाजेले जस्तै परम्पराको कृषिमा लागेका टिकारामले २०५० को दशकपछि कृषिलाई व्यवसायीकरण गरेको बताउछन् । शुरुमा बाउबाजेले जस्तै पुरानै ढर्राबाट धान, गहु, मकै, तोरी उत्पादन गरी खाद्यान्न बेच्ने र गाईभैसी पालेर दुध बिक्री गर्दै आएका थिए । समयको माग अनुसार बजारमा तरकारीको माग बढेपछि मौसमजन्य र बेमैसमी तरकारी खेतीलाई मुख्य व्यबसाय बनाएर जीवीका चलाएका टिकारमले पछिल्लो समय मत्स्य पालनमा लागेका हुन् ।

पांच वर्ष अघिदेखी उनले व्यवसायिक रुपमा आफ्नै खेतमा माछा पाल्दै आएका छन् । तरकारी खेतीबाट फाईदा भएपनि सोंचे जस्तो नभएर माछापालनमा लागेको उनी बताउछन् । डेढ विघा जमिनको खेतमा तिनवटा पोखरीमा माछापालन गर्दै आएका उनले कृषि पेशा ठिकै भएपनि ठूलो आम्दानी गर्न नसकिने गुनासो गरे । मानिसका लागि कृषि नभई नहुने भएपनि राज्यले कृषकहरुलाई चिन्न नसकेकाले नेपाली कृषकहरु खुशी नभएको उनको भनाइ छ ।

कृषि अन्तरगत माछापालन व्यवसाय राम्रो देखेर माछा पाल्न थालेका अधिकारीले वार्षिक ३ देखि ४ लाख आम्दानी हुने बताउछन् । वार्षिक ३ देखि ४ लाख आम्दानी भएपनि बजारको अभावले दुख्ख अनुसारको फल नपाएको गुनासो गरे । जीवन नै कृषिमा बिताएपछि अब पेशा परिवर्तन गर्नपनि सम्भव छैन । मुल्य नपाउंदा कृषि पनि गर्ने मन छैन उनले भने ।

कृषिमा लामो अनुभव बटुलेका कृषक टिकारम अधिकारीले पोखरीबाट प्रतिकिलो १८० देखि १९० सम्म बिक्री भएको माछा बजारमा ३ सयदेखि ३ सय २० मा विक्री हुने र २ सय ७५ मा बिक्री गरिएको माछा बजारमा प्रतिकिलो ३ सय ८० देखि ४ सयसम्म बजारमा बिक्री हुनेहुंदा किसानलाई फाईदा नहुने उनले बताए ।

किसानले मुल्य नपाउने, उपभोक्ता महङीको मारमा पर्ने र बिचका बिचौलीया मोटाउने कृषि पेशाबाट देशका अधिकांस कृषकहरु विस्तापित हुदै गएको अधिकारीको गुनासो छ । किसानको लगानी नउठ्ने बिचौलियको महल ठडिने हुंदा यो पेशा धान्न धौधौ भैरहेको छ, उनले भने । रुपन्देहीको छपिया माछा पालनका लागि दशेकै पकेट क्षेत्र मानिन्छ । आफ्नो गाउंसग जोडिएको छपिया गाउं माछाका लागि पकेट क्षेत्र बनेपछि उनी माछा पालनमा आर्कषित भएका हुन् ।

वास्तविक किसानले अनुदान पनि नपाउने गोठ, पोखरी बनाउन र औजारसमेत नपाएका किसानका लागि सिंचाई र विउ मलको अभाव रहेको बताए । दिन प्रतिदिन कृषिजन्य वस्तुको माग बढ्दै गएपनि खेतबारीमा काम गर्ने वास्तबिक किसानले सुविधा नपाउंदा कृिष उत्पादन घट्दै जांदा कृषिमा आत्मनिर्भर हुने बेला परनिर्भर हुने अवस्था आएको उनको भनाइ छ । पहुंचको आधारमा अनुदान, सेवा सुविधा पाइने भएकाले हामी जस्ता पहुंच नभएका कृषकहरु विस्तापित हुनुपर्ने अवस्था आएको गुनासो गरे । अहिलेसम अनुदान र सहुलियत दरको ऋणसमेत नपाएको बताउंदै उनले भने – मेरो त्यस्तो ठूलो पहुंच छैन । खेतवारीमा काम गर्दागर्दै दिन बित्छ । कसैलाई हारगुहार र ज्याक लगाउन जाने फुर्सद हुन्न उनले भने ।

जीवनभर कृषि पेशामा जीवन बिताएका टिकाराम अधिकारीका दुई छोरा, दुई छोरी छन् । तर उनका छोराछोरीले कृषि पेशा अगालेनन् । टिकारम अधिकारी एक उदाहरणका लागि एक पात्र मात्रै हुन् । देशमा थुप्रै कृषकका छोरोछोरी कृषि पेशा छोडेका छन् ।
तराईमा बाउबाजेले जोडेको खान पुग्ने खेत थियो अधिकारीको ।

उनले २०४६ सालमा एसएसली पास गर्दा गाउंमा पढे लेखेको मानिन्थ्य । शिक्षकदेखि अरु जागिर सजिलै पाहिन्थ्यो । तर जागिर नखाएर कृषिमा जीवन बिताएका ६० वर्षिय व्यवसायिक कृषक टिकाराम अधिकारी आफ्नो पेशा छोड्न सकेका छैनन् । तर उनी सन्तुष्ट पनि छैनन् ।