विप्लव माओवादी निकट विद्यार्थी संगठनको आयोजनामा बुटवलमा स्वास्थ्य तालिम


बुटवल, मंसिर १५ गते । विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल समाजवादी बुटवल बहुमुखी क्याम्पसको आयोजनामा एक दिने आधारभूत स्वास्थ्य तालिम भएको छ । ‘म स्वस्थ, क्याम्पस स्वस्थ र देश स्वस्थ’ भन्ने मूल नाराका साथ बुटवल बहुमुखी क्याम्पसमा एकदिने प्राथमिक उपचारका लागि आधारभूत स्वास्थ्य तालिम आयोजना गरिएको हो ।

विद्यार्थीमा स्वास्थ्य सचेतना,सामाजिक सञ्जालका सदुपयोगिता र व्यावहारिक सीप अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संगठनका केन्द्रीय सचिवालय सदस्य बिष्णुबहादुर राउतले जानकारी गराए ।
कार्यक्रममा नेकपा (माओवादी) रुपन्देही जिल्ला सचिव वीरेन्द्र विक, जनपत्रकार संगठनका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, क्याम्पसका निमित्त प्रमुख डा. दुर्गा भुसाल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नवीन तिरुवा, अखिल (समाजवादी) लुम्बिनी प्रदेश सह–इन्चार्ज विष्णुबहादुर राउत ‘विज्ञान’ तथा जनस्वास्थ्य अधिकृत अरविन्द चन्दको उपस्थिति थियो ।

कार्यक्रममा बोल्ने वक्ताले प्राविधिक सीप र व्यावहारिक ज्ञानसँगै जोडिने कार्यक्रम हरेक क्याम्पसमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै जनपत्रकार संगठनका पूर्व अध्यक्ष प्रकाश डुम्रेले विद्यार्थीको रचनात्मक र सिर्जनात्मक ज्ञानसंगै सभ्य तथा सु–सस्कृत समाज निमार्णमा भुमिका खेल्नु पर्ने बताउंदै विद्यार्थीले शिक्षण संस्थाहरुबाट सकरात्मक कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिए ।
कार्यक्रममा जिल्ला सचिव वीरेन्द्र विकले सीपमूलक शिक्षा र व्यावहारिक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै संगनले सुरु गरेको स्वास्थ्य तालिमले सकारात्मक सन्देश दिएको बताए ।
संगठनका संयोजक विष्णु लम्सालले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा र सीपमूलक रचनात्मक गतिविधि सञ्चालन गर्ने बताउंदै अब हरेक शिक्षण संस्थाहरुमा रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्दता जनाए ।
कार्यक्रममा विद्यार्थीबीच प्रयोगात्मक रूपमा प्राथमिक उपचार र रक्तचाप मापनसम्बन्धी तालिम दिईको थियो ।






















