हाजिरजवाफमा अक्सफोर्ड प्रथम

बुटवल, पुस ५ गते । रुपन्देहीको तिलोत्तमास्थित होराइजन गौतमबुद्ध माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न भएको जिल्ला स्तरीय अन्तर–विद्यालय हाजिरीजवाफ प्रतियोगितामा अक्सफोर्ड माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ४८ विद्यालयका विद्यार्थी समूहहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कठिन छनौट चरण पार गर्दै फाइनल राउन्डमा अक्सफोर्ड मा वि, लिटल प्याराडाइज, सुनगाभा, बुद्ध पब्लिक, ग्रिन प्लान्ट र एभरेष्ट माविले स्थान बनाएका थिए। फाइनलको रोचक भिडन्तपछि अन्तिम नतिजामा अक्सफोर्ड मा वि प्रथम, सुनगाभा मा वि द्वितीय, ग्रिन प्लान्ट बोडिङ्ग स्कुल तृतीय र बुद्ध पब्लिक मा वि ले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय र सान्त्वना हासिल गर्ने विद्यालयका विद्यार्थीहरूले क्रमश २० हजार,१५ हजार,१० हजार र ५ हजार नगदसँगै शिल्ड र प्रमाणपत्र समेत प्राप्त गरेका छन्।

कार्यक्रमका बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले होराइजन माविको प्रशंसा गर्दै भने “यो संस्था राष्ट्रकै अग्रणी शैक्षिक प्रतिष्ठान हो, जसले हरेक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याएर अभिभावकहरूको विश्वास जितेको छ।“ त्यस्तै, विशिष्ट अतिथि शिक्षा समन्वय इकाइ प्रमुख विष्णु प्रसाद पन्थीले होराइजन अब एउटा ’ब्रान्ड’ बनिसकेको उल्लेख गर्दै राष्ट्रिय स्तरका कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिनुभयो। राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनीका प्रमुख रमाकान्त तिवारीले होराइजनका कार्यक्रमहरू अन्य विद्यालयका लागि पनि अनुकरणीय हुने बताए ।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरी, अभिभावक संघका लुम्बिनी प्रदेशका अध्यक्ष यम थापा, विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्य, शैक्षिक निर्देशक लक्ष्मण गौतम,उपप्राचार्यद्वय इन्द्र भुसाल, ज्ञानेश्वर ज्ञवाली लगायतको उपस्थिति रहेको थियो।

शिक्षक रिषीराम पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको औपचारिक सञ्चालन प्राध्यापक नारायण पन्थले गरेका थिए, भने अनौपचारिक सत्रको सञ्चालन शिक्षकहरू ऋषी पौडेल, कृष्ण पौडेल र विजय पराजुलीले गरेका थिए ।