नगर स्तरीय वेब डिजाइन प्रतियोगितामा कान्ति प्रथम


कृष्ण पाण्डे
बुटवल, जेठ १६ गते । बुटवल उपमहानगरको सहकार्य र निट लेजेन्डको आयोजनामा आयोजित नगर स्तरीय प्रतियोगितामा कान्ति माध्यमिक विद्यालय प्रथम भएको छ ।

विद्यार्थीमा लुकेरको प्राविधिक क्षमता, नवप्रवर्तन र सिर्जनशीलता उजागर गर्दै प्रविधिमैत्री समाज निर्माण गर्ने उद्देश्यका साथ बुटवलमा नगर स्तरीय वेब डिजाइन प्रतियोगिता आयोजना गरिएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रतिभावान विद्यार्थी माझ भएको प्रतिस्पर्धा र उत्कृष्ट प्रस्तुतीकरणबीच कान्ति माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै नगद रुपैयाँ १५,०००, मेडल र ट्रफी प्राप्त गर्न सफल भएको छ, भने अक्सफोर्ड सेकेन्डरी स्कूलले द्वितीय स्थान प्राप्त गरी नगद रुपैयाँ १०,०००, मेडल र ट्रफी, न्यू होराइजन सेकेन्डरी स्कूलले तृतीय स्थान सुरक्षित गर्दै नगद रुपैयाँ ५,०००, मेडल र ट्रफी तथा एभरेष्ट सेकेन्डरी स्कूलले सांत्वना स्थान प्राप्त गर्दै नगद रुपैयाँ २,५०० र मायाको चिनो हात पार्न सफल भएका छन्। 

आयोजक संस्थाका संयोजक कमल न्यौपानेको अध्यक्षता तथा आविष्कार खनालको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा विष्णु खनालले स्वागत मन्तव्य राख्दै आमन्त्रित सम्पूर्ण विशिष्ट व्यक्तित्वहरू, शिक्षक, अभिभावक तथा प्रतिस्पर्धी विद्यार्थीहरूलाई न्यानो स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले विश्वमा तीव्र गतिमा अघि बढिरहेको सूचना र प्रविधिको चौतर्फी विकाससँगै अबको युवा पुस्तामा डिजिटल सीप र प्रविधिको व्यावहारिक ज्ञानहुनु हुनुपर्ने बताए ।
प्रविधिको विकास र विद्यार्थीको क्षमता अभिवृद्धिका लागि स्थानीय सरकार सधैं सहयोग गर्न तयार रहेको बताउंदै प्रविधिमैत्री समाज निर्माण गनुृपर्नेमा जोड दिए । प्रमुख पाण्डेले रचनात्मक तथा प्राविधिक प्रतिस्पर्धाहरूले विद्यार्थीहरूको आन्तरिक क्षमता निखार्न एवम् उनीहरूको डिजिटल भविष्य सुनिश्चितका लागि कोशेढुङ्गाको रुपमा काम गर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित अक्सफोर्ड मावि बुटवलका उपप्राचार्य मोहन खनाल क्षेत्री र प्राध्यापक राजन पाण्डेका साथै विद्यार्थीहरूको कोडिङ, कल्पनाशीलता, डिजाइन र सिर्जनशीलताको सुक्ष्म ढंगले मूल्याङ्कन गर्नका लागि गठित निर्णायक मण्डलका सदस्यहरू ई. अमृत रानाभाट, ई. लोकेन्द्र जर्घामगर र कीर्तिमा खनाल लगायतले समसामयिक डिजिटल युगमा युवा विद्यार्थीका लागि यस्ता प्राविधिक मञ्चहरूको अपरिहार्यता, महत्व र भविष्यको आवश्यकतामाथि गहन प्रकाश पार्दै आ–आफ्नो महत्वपूर्ण मन्तव्य व्यक्त गर्नुभएको थियो। समापनको अवसरमा आयोजक कमिटीले आगामी दिनहरूमा पनि विद्यार्थीको प्राविधिक जगलाई अझ बढी मजबुत, गुणस्तरीय र व्यावसायिक बनाउनका लागि स्थानीय निकायहरूसँग समन्वय गर्दै यस्ता सीपमूलक र नवप्रवर्तनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।























