सैनामैना मेमोरियल स्कुलको रजत जयन्तीको अवसरमा रक्तदान

बुटवल, माघ ११ गते । रुपन्देहीको सैनामैना–१ स्थित सैनामैना मेमोरियल स्कुलको २५ औँ वार्षिक उत्सव (रजत जयन्ती) तथा अभिभावक दिवसका अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।

सैनामैना मेमोरियल स्कुलको सैनामैना मेमोरियल भू.पू. विद्यार्थी मञ्चको आयोजनामा तथा सैनामैना मेमोरियल स्कुलको समन्वयमा भएको रक्तदान कार्यक्रम भएको हो । मिडिया कोर्डिनेटर कमल खड्काले ४२ जनाले रक्तदान गरेको जानकारी गराए ।

मञ्चका अध्यक्ष सन्दिप भुसालको अध्यक्षता तथा संयोजक सुधन पाण्डेको संयोजनमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका सभापति कृष्ण पंगेनी रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पंगेनीले रक्तदान जीवनदान भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले समाजमा मानवीय सेवा भावनाको विकास गर्ने बताए ।

विद्यालयका प्राचार्य डि. बि. खत्री ‘प्रदीप’ले रक्तदानजस्तो पवित्र कार्यमा सहभागी हुने सबै दाताहरूप्रति धन्यवाद व्यक्त गर्दै विद्यालय सामाजिक उत्तरदायित्व वहन गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाए । कार्यक्रममा शिक्षक, अभिभावक, भू.पू. विद्यार्थी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।