विश्व माविलाई नेपाल टेलिकमद्वारा कम्प्युटर सहयोग

टेकराज भुसाल

अर्घाखाँची, चैत १२ गते । अर्घाखांचीको भूमिकास्थान नगरपालिका ढाकावाको विश्व माध्यमिक विद्यालयलाई नेपाल टेलिकमले १२ थान कम्प्युटर हस्तान्तरण गरेको छ।

बिहीबार आयोजित एक कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका प्रशासनिक अधिकृत निराजन पण्डित तथा बरिष्ठ सहायक राम बन्जाडेले संयुक्त रूपमा कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रशासनिक अधिकृत निराजन पण्डितले सूचना प्रविधिको विकाससँगै शिक्षालाई डिजिटल माध्यमसँग जोड्नु पर्ने बताए ।
ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्रविधिको पहुंचमा पुराउने र भविष्यमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले भने – विद्यालयले उपलब्ध गराइएका कम्प्युटरहरूको सदुपयोग गरी गुणस्तरीय शिक्षा प्रदान गनुपर्छ ।

हस्तान्तरण कार्यक्रममा विद्यालयका सहायक प्राचार्य सन्तबहादुर केसीले नेपाल टेलिकमप्रति आभार व्यक्त गर्दै यस सहयोगले विद्यालयको सूचना प्रविधि शिक्षामा ठूलो टेवा पुग्ने बताए ।

विद्यार्थीले व्यवहारिक रूपमा कम्प्युटर शिक्षा लिन पाउने र सिकाइ प्रक्रिया अझ प्रभावकारी बन्ने सहायक प्राचार्य सन्तबहादुर केसीको भनाइ छ ।
कार्यक्रममा शिक्षकहरू खुमबहादुर बस्नेत, रमेश चौधरी तथा भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसाल सहित विद्यार्थीको उपस्थिति रहेको थियो।

कम्प्युटरको सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुका साथै डिजिटल शिक्षाको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।