रुपन्देहीको मणिग्राममा भेटेरिनरी एशोसिएसनको सम्मेलन

बुटवल, चैत १५ गते । नेपाल भेटेरिनरी एशोसिएसनले यही चैत २७ र २८ गते रुपन्देहीमा १६ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन गर्ने भएको छ ।
नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धान सम्बन्धी विकासलाई प्रवद्र्वन गर्ने उद्वेश्यले भेटेरिनरी सम्मेलन गर्न लागिएको हो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने शनिबार पत्रकार सम्मेलन गरी एशोसिएसनले जानकारी गराएको छ । सम्मेलनमा पशु विभागका तर्फबाट समग्र पशुपंक्षी क्षेत्रको वर्तमान अवस्था र आगमी कार्यदिशाको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट नीतिगत प्रस्तुति रहने छ ।

सम्मेलनमा नेपालसहित ७ भन्दा बढी देशका प्रतिनिधिहरुको सहभागिता रहने छ । पशुचिकित्सकहरुको मात्रै सहभागिता रहने उक्त सम्मेलनमा १५ भन्दा बढी अन्तर्राष्टिय आमन्त्रित वक्ताले प्राविधिक क्षेत्रमा गर्नुपर्ने सुधारका साथै नयां सरकारलाई नीतिगत सुधारका लागि सुझाब दिने कार्यक्रम रहेको नेपाल भेटरिनरी एशोसिएसनका अध्यक्ष डा. केशर सुवेदीले जानकारी गराएका छन् ।

स्वास्थ्य महामारी नियन्त्रण, खाद्य सुरक्षा, जलवायु परिवर्तनबारे विज्ञहरुले कार्यपत्र प्स्तुत गर्ने कार्यक्रम रहेको छ ।
नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेशको व्यवस्थापनमा हुने सम्मेलनबाट मानव, पशु र वातावणवीचको अन्तरसम्बन्धलाई वैज्ञानिक तथा व्यवहारिक दृष्टिकोणबाट उजागार गर्ने लक्ष्य राखिएको अध्यक्ष सुवेदीले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ अनुसन्धानकर्ता, विद्यार्थी र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता सम्मेलनको पूर्वसन्ध्यामा चैत २६ गते एष्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल भरका भेटेरिनरीहरुवीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव शंकर न्यौपानेले जानकारी गराए ।

महासचिव न्यौपानेको अनुसार विद्यार्थीको क्षमता विकासलाई प्रोत्सान गर्नका लागि स्टुडेन्ट पोष्टर प्रतियोगिता आयोजना गरिएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।

सम्मेलनमा २५ वर्ष बढी योगदान पुराएका अनुभवी पशु चिकित्सिकहरुलाई सम्मान तथा राष्ट्रिय स्तरका विभिन्न पुरस्कारहरु प्रदान गरिने छ ।
रुपन्देही तिलोत्तमाको होटल ड्रिमल्याण्डका हुने सम्मेलनमा करिब ५ सय पशु जना चिकित्सकको उपस्थिती रहने आयोजकहरुले बताएका छन् ।

पत्रकार सम्मेलनमा नेपाल भेटेरिनरी एशोसिएसन अध्यक्ष डा. केदार सुवेदीले नेपाल पशुपालनमा आत्मनिर्भर उन्मुख रहेको र खशी बोकामा आतमनिर्भर बन्ने अवस्थामा रहेको बताए ।