यो सरकारबाट पार लाग्दैन चित्रबहादुर

बुटवल, जेठ ३० गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यो लोकतन्त्र बिरोधी सरकारबाट देशले निकास पाउन नसक्ने बताए । यो सरकार अलोकतान्त्रिक हो भन्दै आलोचना गरे ।

नयां सरकार बनेपछि देश नयां संकटमा परेको बताएउंदै अध्यक्ष केसीले भने इतिहांसमा सबै भन्दा संकटको मोडमा देश उभिएको छ । देश जोगाउन गणतन्बादी शक्ति एक ठाउंमा हुनुपर्ने बताए । बालेन्द्र सरकारका कारण देश संकटमा पुगेको बताउंदै यो सरकारबाट कुनै शाशा अपेक्षा गर्न नहुने अध्यक्ष केसीको भनाइ छ ।

बुटवलमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) को चौथो राष्ट्रिय सम्मेलनपछिको प्रथम राष्ट्रिय भेला उद्घाटनमा बोल्दै देश संकटमा परेसंगै नेपालमा मजदुर आन्दोलन अप्ठ्यारोमा परेको बताए ।

यो सरकारले ट्रेड युनियन अधिकार नै खारेज गरेको बताउंदै सरकारले लोकतन्त्र विरोधी कदम चालेको आरोप लगाए ।
अब मजदुर, विद्यार्थी आन्दोलन उठ्नु पर्ने बताउंदै यो सरकाररले परिवर्तनका उपलब्धीहरुलाई खारेज गर्न सक्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अन्टुकका संस्थापक सल्लाहकार तथा अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य लीलाबहादुर केसी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य मिलन पोखरेल, अखिल (छैठौं) केन्द्रीय समितिका कुलचन्द्र शर्मा र अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य इन्दिरा ज्ञवालीले लगायतले बोलेका थिए ।

उपाध्यक्ष गोविन्द बिसीको अध्यक्षता, महासचिव धनपति सापकोटाको सञ्चालन र उपाध्यक्ष टिकाराम पौडेलको स्वागतमा उद्घाटन सत्र सम्पन्न भएको थियो । शालिकराम सापकोटाको सञ्चालन र संस्थापक सल्लाहकार भैरवराज रेग्मीको आतिथ्यमा राष्ट्रिय भेलाको बन्दसत्र भएको थियो ।
बन्द सत्रमा अन्टुकको सांगठानिक तथा राजनैतिक प्रतिवेदन अध्यक्ष लोकराज भुसाल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पुरुषोत्तम कार्कीले प्रस्तुत गरेका थिए ।

३३ बुँदे विशेष प्रस्ताव पारित गदैृ सम्पन्न भेलाले महासचिव धनपति सापकोटालाई कावा अध्यक्ष चयन गर्दै १५ पूर्ण, चार वैकल्पिक र पाँच सल्लाहकार समिति रहेको केन्द्रीय समिति पुनर्गठन गरेको छ ।