उकालोले श्रमशोषण गरेको गुनासो


काठमाण्डौ, साउन १ गते । काठमाण्डौका उकालो अनलाइनले श्रमजीवि पत्रकार तथा कर्मचारीहरुलाई श्रम शोषण गरेको खुलासा भएको छ । सोही मिडिामा कार्यरत श्रमजीवि पत्रकार र कर्मचारीहरुले लामो समयदेखि तलब नपाएको बताएका छन् ।

श्रमजीवी पत्रकार तथा कर्मचारीहरूबाट विगत लामो समयदेखि चरम श्रमशोषण, काम गर्ने वातावरणको अभाव, कात्तिकदेखि पारिश्रमिक नदिने, हक अधिकारका लागि आवाज उठाउँदा अमर्यादित व्यवहार गरेको गुनासो समेत गरेका छन् ।
सोही मिडियामा कार्यरत श्रमजीविहरुले गत कार्तिकदेखि तलब तथा पारिश्रमिक नदिएपछि श्रमजीवी पत्रकार संघ, नेपालले उक्त मिडियाको कार्यलयमा ताला लगाएको छ ।

श्रमजीवी –पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैशीले श्रम ऐन २०७४, श्रम नियमावली २०७५ तथा श्रमजीवी पत्रकार ऐनले तोकेको न्यूनतम पारिश्रमिक र सेवासुविधाबाट वञ्चित गर्नु अत्यन्तै दुःखद र निन्दनीय कार्यभएको बताएका छन् ।
मिडियाले एकातर्फ पारिश्रमिक नदिएको, अर्कोतर्फ चाडपर्व खर्च, औषधोपचार, सामाजिक सुरक्षा, उपदानलगायत कुनै पनि वैधानिक सुविधा नदिइ अहिलेसम्म व्यवस्थापन पक्ष पुरै बेखबर मात्र हैन, प्रबन्ध निर्देशक आमोद नाथ प्याकुरेल, अध्यक्ष पुष्कर कार्कीले संस्थाप्रति कुनै जवाफदेही नदेखाइ गैर जिम्मेवार भएर श्रमजीवीको श्रम लुटिरहनुभएको मात्र हैन, कानुनी राज्यको उपहास गरिरहनुभएको श्रमजीवी –पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैशीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा उल्लेख गरिएको छ–
उकालो अनलाइन अफिसमा श्रमजीवीको चेतावनी पत्र
श्रमजीवी पत्रकार संघ, नेपाल देशभर विभिन्न मिडिया हाउसमा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरूको हकहित, सम्मान र पेशागत सुरक्षाका लागि स्थापित आधिकारिक संगठन हो भन्ने कुरा यहाँलाई अवगत नै छ। उकालो अभियान अन्तर्गत कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरूबाट विगत लामो समयदेखि चरम श्रमशोषण, काम गर्ने वातावरणको अभाव, कात्तिकदेखि पारिश्रमिक नदिने, हक अधिकारका लागि आवाज उठाउँदा अमर्यादित व्यवहार गर्ने गुनासोहरू हाम्रो संगठनमा पटक–पटक आइरहेका छन् ।
संस्थाको स्थापनाकालदेखि नै करिब ४ वर्षसम्म आफ्नो उर्जाशील समय, श्रम र क्षमता समर्पण गरेका पत्रकार तथा कर्मचारीहरू आजसम्म श्रम ऐन २०७४, श्रम नियमावली २०७५ तथा श्रमजीवी पत्रकार ऐनले तोकेको न्यूनतम पारिश्रमिक र सेवासुविधाबाट वञ्चित रहनु अत्यन्तै दुःखद र निन्दनीय अवस्था हो। संस्थाले एकातर्फ पारिश्रमिक नदिएको, अर्कोतर्फ चाडपर्व खर्च, औषधोपचार, सामाजिक सुरक्षा, उपदानलगायत कुनै पनि वैधानिक सुविधा नदिइ अहिलेसम्म व्यवस्थापन पक्ष पुरै बेखबर मात्र हैन, प्रबन्ध निर्देशक आमोद नाथ प्याकुरेल, अध्यक्ष पुष्कर कार्कीले संस्थाप्रति कुनै जवाफदेही नदेखाइ गैर जिम्मेवार भएर श्रमजीवीको श्रम लुटिरहनुभएको मात्र हैन, कानुनी राज्यको उपहास गरिरहनुभएको छ।
गैरनाफामुलक भनेपनि व्यवसायीहरूले रकम जम्मा गरी पब्लिक कम्पनीका रूपमा दर्ता भएको संस्थाले श्रमिकको पसिना र मेहनतबाट संस्था यहाँसम्म पुगेको यथार्थलाई बेवास्ता गर्दै, तलब नदिने, दबाब सिर्जना गर्ने जस्ता कार्य गर्नु सामाजिक कार्यको आवरणमा कानुनी र नैतिक दुवै हिसाबले अक्षम्य अपराध हो।
अतः ७ दिनभित्र कानुनले तोकेको सेवासुविधासहित बाँकी रहेको ९ महिनाको पारिश्रमिक भुक्तानी नगरे आगामी श्रावण ४ गतेदेखि उकालो अभियानको कार्यालय र साहुहरूको निवासमा धर्ना, घेराउ, तालाबन्दीलगायत रचनात्मक तथा चरणबद्ध आन्दोलनका कार्यक्रम गर्न श्रमजीवी पत्रकार संघ बाध्य हुने स्पष्ट जानकारी गराइन्छ । उक्त आन्दोलनबाट उत्पन्न हुन सक्ने कुनै पनि किसिमको प्रत्यक्ष वा अप्रत्यक्ष जिम्मेवारी सम्पूर्ण रूपमा उकालो अभियानको व्यवस्थापन पक्ष हुनेछ।
संवाद र समाधानमै विश्वास राख्दै,
जन्मदेव जैसी
अध्यक्ष
श्रमजीवी –पत्रकार संघ, नेपाल ।
मिति ः २०८३।०४।०१























