मैले त बुझिनँ, बुझाइ देउ कसैले

जगीलाल थापा
अमुक दलको संगठनमा भए महासंघको सदस्यता पाइने प्रावधान अख्तियार गरेकाहरुले त्यो त फलना पार्टीको हो भन्दै आवेदन मिल्काइदिने संगठन नै नेपाल पत्रकार महासंघ हो। महासंघको सदस्य हुन शासक दल त्यो पनि हालीमुहाली भएका दलहरुको पछि लागेर हिडेपार समाचार लेख्नै पर्दैन। यसो दुईचार वटा चाकडी गरेका फोटोहरु आफ्नो फेसबुकमा राखे पछि असली पत्रकार भइन्छ। यहाँ कामको आधारमा होइन दलिय भागवण्डाको आधारमा महासंघ सदस्यता पाइन्छ।

पछिल्लो समय बिभन्न दलसम्बद्ध पत्रकार संघ तथा संगठनहरुले महासंघको सदस्यता शुद्धिकरणको बहानामा गरिएको आन्दोलन, संघर्ष र जारी गरिएको विज्ञप्ती बार्गेनिङ्ग (लेनदेन) बाहेक केही होइन। यहाँ काम गर्नेलाई होइन। यदि मेरो दलको मान्छे परेन भने तेरो पनि हुन दिन्न भन्ने उछिटोमात्र हो।
महासंघले कसलाई सदस्यता दिएको छ वा दिन्छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ। असली पत्रकारिता गर्ने र उसको कृयाशिलताको आधारमा महासंघको सदस्यता वितरणमा नियमन र कार्यान्वय गर्नु पर्दछ भन्ने मेरो ब्यक्तीगत बिचारसंग महासंघको ठ्याक्कै बिचार मेल खान्छ। तर हरेक बर्ष कहाँनेर त्यो मेलमा धमिरा लाग्छ वा छायाँ पर्छ केही बुझिसक्नु छैन।

वास्तविक पत्रकारिता गर्ने ब्यक्ती किन दलहरुको घेराबन्दी र भागबन्डीमा पर्छ ? मैले त बुझिनँ । बुझाइदेउ कसैले । निश्चित दलहरुको सिण्डिकेटले पत्रकारितालाई चाकडीको फोटो सार्वजनिक गर्ने परिभाषामा परिणत गर्न अवेर लाग्दैन। यो पनि बुझ्न जरुरी छ कि सधै हाम्रो मात्र बर्चश्व कायम रहन्छ । हाम्रो बर्चश्व रहँदा हामीले सबै रजाईँ गर्नु पर्छ भन्ने मानसिकतालाई कहिले दिने हो तिलाञ्जली?

हिजो राणाहरुले पनि अहिलेका शासक दल र तिनका पिछलग्गु संघ र संगठन अनि माखाहरुले जस्तै आफुलाई सबथोक ठान्थे र आफुलाई अजर अमर भएको अनुभूत गरेका थिए तर कहिल्यै नउठ्नेगरी ढल्यो। पञ्चायत र राजसंस्थामा पनि उस्तै ढुङ्गढुङ्गती थियो। उनिहरु पनि एकाएक ढलेको बर्तमान र विगतको इतिहासलाई आत्मसात गर्न नसके उल्लेखित उदाहरणमा परिणत हुन समय लाग्दैन अहिलेका शासक दलहरुको।

जनतालाई यो कुरा पनि थाहा छ कि समयमै चेत नआए राणा, पञ्चायत र राजसंस्था जस्तै उनिहरुको अवसान हुने छ। त्यतिवेला उनिहरुको अवसानको मलामी एक दुईवटा झिंगाहरु बाहेक देशभक्तहरु हुनेछैनन। नियतको पनि सिमा हुन्छ होला सायद। सिमा भन्दा बाहिर गइयो वा जाने प्रयास गरियो भने दुर्घटना निम्तिन सक्छ। नेपाल पत्रकार महासंघले उक्त दुर्घटना हुन नदिनका लागि पत्रकारितामा वास्तविक कलम चलाउने र जनताको आवाज सदैव बुलन्द गर्ने श्रमजिवी पत्रकारहरुलाई महासंघको सदस्यता वितरण गर्नु पर्दछ।

महासंघमा शासक दलहरुको जुंगाको लडाईमा म जस्ता काम गर्ने पत्रकारहरु लछारिनु हुन्न। यदि मैले पिटे जस्तो गर्छु, तँ रोए जस्तो गर भन्ने अभिनयमा असली काम गर्ने पत्रकारहरुलाई लछार्ने भित्री इच्छा हो भने पनि अहिलेलाई त्यो इच्छा पुरा गरे पनि हुन्छ। त्यसलाई जिवन्त राख्ने वा मृत्युको शैयामा पुर्याउने हो भन्ने कुराको समय भने नजिकिदै जानेछ ।