चालक हुँ

दलबहादुर गुरुङ

स्टेरिङमा झुन्डिएर
ब्रेक र क्लजजस्तै थिचिएर
हजारौै माईलको यात्रामा
निस्किएको चालक हुँ !

पुग्नु र पुराउनु छ गन्तव्यमा
दिनु छ मुस्कान
लिनु छ प्यार
उकालो चढ्दै
ओरालो झर्दै
आफ्नै दुनियाँमा !

म चालक हुँ !
कहिले सडकले झुक्काउँछ
कहिले बस्तुभाउले बाटामा
कहिले ईन्जिनले ?
होलान् मेरा पनि गल्ती !
तैपनि हर कारणका दोषी म हुन्छु !
फलाक्छन् गाली
बज्रिन्छन् मेरा टाउका र छातीमा
बुट र लात्तीहरु
कसरी सहें हुँला !

सहनु छ मलाई सन्तानका अनुहार हेरेर
बिर्सिनु छ मैले आमाबाका कष्ट बुझेर
हाँस्नु छ श्रीमतीलाई खुसी बाँड्न ।
न बेलामा तनखा आउँछ
न पुग्छ मनग्य खान,लाउन
हेलाको पात्र भएरपनि जिएकै छु ।
सुख र दुःखका आँसु पिएकै छु ।

न निद आउँछन् आँखामा
न भोक हुन्छ पेटमा
रोक भन्दा नरोक्दा मोटर
आशीर्वाद मिल्छ गजापको
रोक्यो होटल अघि
कमिसनलाई रोक्यो भन्छन्
साहुनीले बासी खुवाईन्
आरोप मलाई
भागमा हड्डी भेटिदा,सारो मलाई
सुस्त चलायो,दौडा भन्छन् ।
हाँक्यो,घरमा परिवार छैन र भन्छन् ?
हैट !
कस्तो सेवा
चालक हुँ म !
हेर्याे, नजर लगायो भन्छन्
हेरेन ,देख्दैनस् क्या हो भन्छन् !
तरवारको धारमा हिड्ने किर्ना हुँ म
जाडोमा थुरुरु काँपेर पनि
गर्मीमा सरररर हावा खाँदै
स्नेहको नाम्चे उक्लिएर
गन्तव्यको सगरमाथा पुराउँदा
खुसीले पुलकित यात्री हेर्छु
धन्यवाद् पनि नभन्ने
मेरा यात्री उस्तै हुन्
वा

चालक ?

लेखक– साहित्यकार प्रगतिशील लेखक संघका केन्द्रिीय सचिव हुन् ।