लोक तथा दोहोरी गीत क्षेत्रप्रति राज्य उदासिन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको वार्षिक साधारण सभा सम्पन्न

बुटवल, असोज २३ । राजनीति भन्दा माथि उठेर लोक संस्कृतिको जर्गेना गर्नुपर्ने लोक दोहोरी क्षेत्रका गायक तथा पारखिहरुले बताएका छन् । लोक दोहोरीको माध्यामबाट नेपाली लोक संस्कृति र संस्कार जोगाउन सकिने भएकाले यसतर्फ राजनीतिक दलहरु र राज्यको ध्यान जान आवश्यक रहेको उनीहरुको भनाइ छ ।
शनिबार बुटवलमा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीको १३ औं वार्षिक साधारण सभामा बोल्ने लोक गीत पारखिहरुले लोक संस्कृतिको संरक्षण गर्ने दायित्वबाट कोही पनि पन्छिन नहुने बताए ।
सोही कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमशे विजीले राज्यका नीति नियम र निर्देशन पालना गर्दा पनि लोक तथा दोहोरी गीत क्षेत्रप्रति राज्य उदासिन बनेको बताए । उनले कोरोना भाइरसले सबै क्षेत्र प्रभावित भएको उल्लेख गर्दै लोक तथा दोहोरी गीत क्षेत्र सबै भन्दा बढी प्रभावित भएको बताए ।
गीत र नृत्यबाट जीविका निर्वाह गरेका कलाकारहरु भोकभोकै बस्नु परेको जोखिमको अवस्थामा प्रतिष्ठानले केही राहत प्रदान गरेपनि कलाकारहरुको आर्थिक अवस्था दयनीय भएको अध्यक्ष विजीले बताए । प्रतिष्ठानलाई समाजप्रति थप जिम्मेवारी र विश्वासिलो बनाउन सबैको साथ सहयोग आवश्यक पर्ने अध्यक्ष विजीको भनाइ छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीका अध्यक्ष दीपक कार्कीले हरके क्षेत्रमा लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देही उतकृष्ट बनेको बताए । सबैको साथ सहयोगका कारण रुपन्देही प्रतिष्ठान लोक संस्कृति जर्गेनाका साथै भवन बनाउन सफल भएको रुपन्देही प्रतिष्ठानका अध्यक्ष कार्कीले बताए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष डिल्लीनारायण पाण्डेले लोक संस्कृतिको संरक्षण तथा जगर्नेना गर्ने गरी रुपन्देहीमा बन्न लागको प्रतिष्ठानको भवनलाई लोक संग्रालयको रुपमा विकास गर्न सकिने बताए

कार्यक्रममा विशिष्ट अतिथि खिमबहादुर हमाल, प्रतिष्ठान रुपन्देहीका पूर्व अध्यक्ष विमलराज भट्टराई, सल्लाहाकार समुन्द्र जीसी, समुन्द्र जीसी, नारायणबहादुर रायमाझी लगायतले बोलेका थिए ।
प्रतिष्ठानले उत्कृष्ट पत्रकापिरता पुरस्कारबाट पत्रकार यमलाल भुसाललाई पुरस्कृत गरेको छ, भने सर्जक चुत्रबहादुर पौडेललाई सम्मान गरेको छ । त्यस्तै बाद्य्यबादक विष्णु कंडेल, कलाकार मञ्जु भट्टराई, जेष्ठ नागरिक शेरबहादुर गौतम र आजीवन सक्रिय सदस्य नारायण बहादुर रायमाझीलाई सम्मान गरेको छ । त्यस्तै वर्ष उत्कृष्ट सदस्यमा पुरुषबाट बसन्त लम्साल र महिलाबाट आरती रुचाललाई सम्मान गरिएको छ ।
१३ औं वार्षिक साधारण सभामा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश विजी र अन्य कलाकारहरुले नेपाली लोक संस्कृति झल्कने खालका गीत तथा नृत्य प्रस्तुत गरेका थिए । प्रतिष्ठानका अध्यक्ष दीपक कार्कीको अध्यक्षता, उज्जवल गिरीको सञ्चालनमा कार्यक्रम भएको थियो ।