भारतीय सत्तारुढ दलका नेताहरुको नेपालमा चलखेल

बुटवल, बैशाख २७ गते । भारतीय नेताहरुले एकपछि अर्को गरी भ्रमणका नाममा नेपाल आइरहेका छन् । भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का नेता भगतसिंह कोश्यारी राजनीतिक भेटघाटमा ब्यस्त छन् ।

एमाले र कांग्रेसको वर्तमान सत्ता गठबन्धनलाई भारतले नरुचाएको चर्चा भइरहेको बेला एकपछि अर्को भारतीय सत्तारुढ दलका नेताहरुको नेपालमा दौडधुप चलेको छ।

हालै भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमण गरी स्वदेश फर्केका थिए । चौथाइवाले फर्केको एक साता नबित्दै भाजपाका पूर्वउपाध्यक्ष कोश्यारीले उच्च राजनीतिक भेटघाट गरिरहेका छन् ।

भारतीय राज्य उत्तराखण्डका मुख्यमन्त्री भइसकेका कोश्यारीले बद्रीनाथ मन्दिर निर्माण समितिले निम्ता दिएपछि आफू नेपाल आएको र भ्रमण नितान्त व्यक्तिगत रहेको दाबी गरेका छन् ।
कोश्यारीले भ्रमण नितान्त व्यक्तिगत भनेपनि राजनीतिक भेटघाटमा व्यस्त रहनुले नेपालको आन्तरिक राजनीतिमा भारतको गहिरो चासोलाई प्रकट गरेको छ ।
नेपाल आएलगत्तै उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूसँग भेटघाट गरेका छन् । यसअघि विजय चौथाइवालेले पनि यी सबै नेतालाई भेटेर फर्किएका थिए ।

कोश्यारी महाराष्ट्रको राज्यपाल हुनुअघि उनी सन् १९५० को सन्धि पुनरावलोकन लगायतका विषयमा सिफारिस दिन गठित नेपाल(भारत प्रबुद्ध समूह (ईपीजी) मा भारतीय पक्षको टोली नेता थिए। ईपीजीको अन्तिम बैठकले आफ्नो प्रतिवेदन सुरुमा भारत र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरे पनि भारतले नबुझ्दा हस्तान्तरण भएको छैन।

प्रधानमन्त्रीदेखि प्रमुख विपक्षी दलका नेतासँगको भेटवार्ताको विषयमा भने उनले लेखेका छन्, ‘नेपाल–भारत सम्बन्ध, सांस्कृतिक विरासत र आपसी समन्वय जस्ता विभिन्न मुद्दाहरूमा सकारात्मक चर्चा भयो।’