किसानलाई धान रोप्न मलको अभाव


सर्लाही । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि उत्पादन मधेशमा, विस्तार देशमा र कृषिलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न मधेशले देशलाई खुवाउने अभियानु जस्ता महत्वकांक्षी नारासहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गरेको यो कार्यक्रमले किसानमा आशा जगाए पनि, यहीका किसानले धानबालीका लागि बीउ रोप्न मलखाद पाउन सकेका छैनन्।

असारको सुरुमै धान रोप्ने तयारीमा रहेका किसानहरूले जेठको दोस्रो सातातिरबाट धानको ब्याड राख्न सुरु गरिसकेका छन्। धानको ब्याड राम्रो उमार्न डिएपी मल आवश्यक पर्ने भए पनि हाल रासायनिक मलका डिलरहरू खाली छन्। चारपटक सहकारी संस्थामा पुगिसकेँ, मल आएको छैन भनेर फर्काइरहेका छन्, बागमती नगरपालिका–१२, काजिराम टोलका कालु बोटले गुनासो गर्दै भने, धान रोप्ने समयमा पनि मलखाद पाउने टुङ्गो छैन। खेती कसरी गर्ने होला ? यसरी मधेश प्रदेश सरकारको मधेशले देशलाई खुवाउने अभियान कसरी सफल होला ।
रासायनिक मलखाद वितरणको अधिकार पाएका साल्ट ट्रेडिङ्ग कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडले सहकारीमार्फत मलखाद वितरण गर्दै आएका छन्। सहकारीले प्राप्त गर्ने मलखाद किसानहरुलाई दामासाही रूपमा वितरण गर्ने गरिएको बागमती बचत तथा ऋण सहकारी, बागमती–११ का अध्यक्ष वासु खड्काले बताए। उनी भन्छन्, किसानले आवश्यकताअनुसार समयमा कहिल्यै मलखाद नपाउनु यहाँको नियति नै हो।

सर्लाहीको बरहथवा नगरपालिका–५, हात्तीडण्डाका सुरेन्द्र महतोले यस वर्ष धानखेतीका लागि दुई बिगाहा खेत तयारी अवस्थामा राखेका छन्। हाइब्रिड जातको मकै भित्र्याएर खेत खाली राखेकाले असारको सुरुमै धान रोप्ने उनको तयारी छ, तर बीउ राख्ने बेलामा मलखाद नपाउँदा सास्ती भएको उनले सुनाए। जसोतसो गरी डिएपी मल किनेर तत्कालको गर्जो टारे पनि धान कसरी रोप्ने भनेर चिन्ता लागिरहेको महतोको भनाइ छ।
बीउ राख्न धेरै मलखाद नचाहिने भएकाले जसोतसो टारेँ, तर धान रोप्न धेरै मलखाद चाहिन्छ। मल नहाले उत्पादन हुँदैन। त्यस बेलाचाहिँ के गर्ने भनेर चिन्ता लागिरहेको छ,ू उनले भने, ूकिसान र कृषि क्षेत्रप्रति कोही जिम्मेवार छैनन्। भाषणमा बोलेका २० प्रतिशत कुरा मात्रै व्यावहारिक रूपमा लागू हुने हो भने मात्र पनि किसानको ठूलो समस्या हल हुने थियो।
कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जबाट ढुवानीमा ढिलाइ हुँदा गोदाम खाली रहेको सर्लाहीस्थित कार्यालयका प्रमुख ध्रुव साहले जानकारी दिए। उनका अनुसार हाल सर्लाहीस्थित कृषि सामग्रीको गोदाममा युरिया र डिएपी दुवै मल सकिएको छ।
चुरे क्षेत्रका किसान सठिया मकै गोडेर युरिया हाल्न मल खोजिरहेका छन् भने सिँचाइ सुविधा भएका ठाउँमा धानको बीउ राख्ने चटारो छ, तर मलखाद नपाएका कारण सठिया मकै गोड्न नपाएर खेर जाने अवस्थामा पुगेको बागमती नगरपालिका–१, हिरेडाँडाकी जमुना गोले गुनासो गर्छिन्। उम्रिने बित्तिकै फौजी कीराको चपेटामा परेको मकैलाई मुस्किलले विषादी छिटेर जोगायौँ, उनले भनिन्, हाल गोडमेल गर्ने बेलामा खादमल छैन। गोडमेल गरेपछि रासायनिक मल हाल्नुपर्छ। खादमल कहिले पाइने हो टुङ्गो छैन।






















