विदेशीयका युवाका संघर्षका कथा


नवीन बस्याल, जापान

देशको भित्ता भत्किएका छैनन्, ढोका बन्द भएका छैनन् तर पनि हजारौँ युवा बिहानै विमानस्थलको लाइनमा उभिन्छन् । उनीहरूको आँखामा उत्साह पनि हुन्छ, सँगै निराशा पनि । कतिले भन्छन्, “देशमा केही छैन, त्यसैले हिँडे ।” म भन्छु– देशमा सबथोक छ, केवल रोजगारी, श्रमको उचित मूल्य, अवसर र न्याय छैन ।
म आफै अहिले परदेशमा छु । यताबाट हेर्दा मातृभूमिको पहाड अझ हरियो देखिन्छ, खोला अझ फराकिलो लाग्छन् तर त्यही हरियालीमुनि कतै बेरोजगारीको पीडा छ, कतै मिहिनेतको मूल्य नपाउने तितो पीडा । त्यसैले हामीमध्ये धेरैले विदेशलाई रोजगारी मात्र होइन, सपना र भविष्यको पाटोको रूपमा पनि देख्यौँ ।

धेरैलाई लाग्छ, युवाले देश छोड्नु भनेको देशसँग निराशा हो तर सत्य त्यस्तो होइन । हाम्रो हिँडाइ नकारात्मकताको परिणाम मात्र होइन, आशा र भविष्यप्रतिको विश्वास पनि हो।
विदेश आउँदा हामीले केवल पैसा बटुल्ने सोच मात्र राखेका हुँदैनौँ, हामीले ज्ञान, सिप, क्षमता, अनुभव र अनुशासनसँगै संसारलाई हेर्ने फरक दृष्टिकोणको विकास गर्ने कुरालाई पनि साथमै बोकेका हुन्छौँ ।
देशमा केही छैन भन्ने होइन, देशमा धर्ती छ, खेतबारी, खोरिया छ, भाषा छ, संस्कार छ, संस्कृति छ, माया छ तर देशले अझैसम्म युवाका पसिनाको मूल्यलाई स्वीकृत गर्न सकिरहेको छैन । यही कारण पनि हामी बाध्यतामाझ आँट गरेर देश छोडेर परदेश निस्किन विवश छौँ ।
यता, विदेशको जीवन सजिलो छैन । बिहानदेखि बेलुकासम्म पसिना बगाएर मात्रै पेट भरिन्छ वा दैनिकी चल्छ तर यी सबै सङ्घर्षभित्र एउटा गहिरो सन्देश लुकेको छ, सङ्घर्षबिना सपना पूरा हुँदैन । कामको थकाइले शरीर दुख्छ तर मनमा भोलि र भविष्यको मार्गचित्र लगातार बनिरहेको हुन्छ । हामीलाई थाहा छ, हामीले आज गरेको परिश्रम केवल व्यक्तिगत जीवनका लागि मात्र होइन, भोलि परिवार, समाज हुदै अन्ततः राष्ट्रकै लागि निम्ति हो ।
विदेश हिँड्दा देश बिर्सिन्छ भन्ने किसिमको भाष्य पनि निर्माण गर्न खोजिन्छ तर देश बिर्सिन मिल्दैन । टाढा हुँदा देशप्रतिको प्रेम झनै बढेर आउँछ । यहाँ जापानको सडकमा हिँड्दा म सधैँ आफ्नै गाउँको बाटो सम्झन्छु । यहाँको घडीले देखाएको समयभन्दा बढी मेरो मनमा आफ्नै मातृभूमिको समय चलिरहेको हुन्छ । हामीले कमाएका पैसाले घर बनाउँछौँ, खेत किन्छौँ, छोराछोरी पढाउँछौँ तर यसभन्दा ठुलो र महत्त्वपूर्ण कुरा के हो भने विकसित देशजस्तै विकासको यात्रामा देशलाई कसरी लैजान सकिन्छ भन्ने दृष्टिकोणको निर्माण यहाँबाट भइरहेको हुन्छ ।
युवाले देश छोड्दा देशले लगानी गुमायो भन्ने कुरा आधा मात्र सत्य हो । हो, तत्काल हुने र गर्न सकिने योगदानमा कमी आउला तर लामो विदेशयात्रामा हामीले प्राप्त गरेका ज्ञान, सिप, क्षमता र अनुभवलाई आफ्नो देशमा लिएर प्रयोग गरेर देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउन सकिन्छ । विदेशले हामीलाई श्रमको सम्मान गर्न सिकाउँछ† समयको मूल्य र महत्त्व बुझाउँछ,† इमान, इज्जत र इमानदारीको आवश्यकता महसुस गराउँछ । यी सबै उपयोगी कुरा हामीले हाम्रो देशमा लागु गर्न सके, हाम्रो देशलाई नयाँ ढङ्गले फरक स्थानमा पुरÞ्याउन सकिन्छ ।
देशलाई केवल सरकार वा नेताले मात्र परिवर्तन गर्ने होइन, देशका सम्पूर्ण नागरिक, विदेशबाट फर्केका युवाका अनुभव, पुँजी र सोचाइ देशलाई नयाँ दिशामा लैजान कोशेढुङ्गा साबित हुन सक्छन् ।
म भन्छु, विदेश जानु हार होइन, यो एउटा सिकाइ र ज्ञान आर्जनको चरण हुन सक्छ । देशमा केही नभएर होइन र हुँदैन भनेर पनि तर भइरहेकोभन्दा अझ धेरै बनाउन सकिन्छ भनेर हामी विदेश आएका हौँ ।
हामीले यस्तो सङ्कल्प गरेका छौँ, कुनै दिन हामीले सिकेको अनुशासन, सिप र अनुभवले आफ्नै भूमिमा मिठो फल फलाउनेछ । सङ्घर्ष अहिले छ तर सपना भोलि हो । यही सपना र सङ्कल्पले हामीलाई यो ठाउँ उभ्याइराखेको छ ।
युवा देश छोड्छ तर देश मनभित्रै बोकेर छोडेको हुन्छ । विदेश सङ्घर्षको थलो हो । त्यो स्थायी होइन, अस्थायी हो ।
देशले हाम्रो परिश्रमको मूल्य दिइरहेको छैन भन्ने पीडा साँचो हो, आज हामी विदेशमा सङ्घर्ष गर्दैछौँ, भोलि यही सङ्घर्षलाई ज्ञान, सिप र अनुभवको रूपमा रूपान्तरण गरेर आफ्नै मातृभूमिलाई सबल, सक्षम मजबुत र आत्मनिर्भर बनाउन सक्छौँ ।
लेखक प्यूठान निवासी नविन बस्याल केही वर्षदेखि रोजगारीका लागि जापानमा कार्यरत छन् ।






















