शान्ति नमुनामा ३९ जनाले गरे रक्तदान

बुटवल, माघ ८ गते । रुपन्देही तिलोत्तमास्थित मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन् ।
विद्यालयको ६७ औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक विष्णुप्रसाद अर्यालले जानकारी गराएका छन् ।
विद्यालयको सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरिएको भन्दै विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताए । पठन पाठनबाहेक अन्य अतिरिक्त कार्यक्रमहरु पनि सञ्चालन गरेर शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीलाई मानवीय सेवामा आर्कषित गर्ने गरिएको प्रधानाध्यापक लामिछानेले बताए ।
रक्तदाताहरुलाई नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका महामन्त्री टेकबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराइले सहभागिताको प्रमाणपत्र वितरण गरेका थिए ।
बुटवल ब्लडका प्राविधिक निरञ्जन राजभण्डारी, रोशन पुन र प्रिती थापाले प्राविधिक सहयोगमा रक्तदान गरिएको थियो ।
यसैबीच, शान्ति नमुनाले वार्षिकोत्सव तथा अभिभावक दिवशको मुल समारोह माघ ९ गते गर्ने भएको छ ।
कार्यक्रममा छात्रवृति वितरण, शिक्षक तथा कर्मचारी सम्मान, पत्रकार सम्मान, नानी मुखपत्रको विमोचन, पुरस्कार वितरण, सांस्कृतिक प्रस्तुतीलगायतका कार्यक्रम गरिने विद्यालयका सूचना संयोजक दिनेश खड्काले जानकारी दिए ।
शान्ति नमुना माध्यमिक विद्यालयले रुपन्देहकिा सरकारी विद्यालयमध्ये पुरानो विद्यालय हो । शैक्षिक पठन पाठनमा उत्कृष्ट नतिजा ल्याउने मध्ये देशरभरकै नमुना विद्यालयमा पर्दछ ।