राष्ट्रियताको रक्षा र संघीयता खारेज गर्न राजमोलाई भोट – नेपाली

बुटवल, फागुन १६ गते । गणतन्त्र, राष्ट्रियताको रक्षा संघीयता खारेजीका लागि गिलासमा मतदान गर्न राष्ट्रिय जनमोर्चाका नेता र उम्मेदवारहरुले मतदातालाई आह्वान गरेका छन् । केही दिन यतादेखि चुनावी घरदैलो कार्यक्रमलाई तीव्रता दिएको राष्ट्रिय जनमोर्चाले देशभर घरदैलो अभियानलाई जारी राखेको छ ।

राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा पनि घरदैलो अभियानलाई जारी राखेको छ । शनिबार क्षेत्र नम्बर १, २, ३ र ५ का विभिन्न वडाका मतदाताहरुका घरघरमा पुगेर गिलासमा भोट दिन आग्रह गर्दै आफ्नो पार्टीको घोषणा पत्र दिने गरिएको क्षेत्र नम्बर २ का निर्वाचन परिचालन समितिका संयोजक तथा समानुपातिक उम्मेदवार गणेश गौतमले जानकारी गराएका छन् ।

श्निबारको घरदैलो कार्यक्रम अन्तरगत बुटवल उपमहानगरपालिका वडा नम्बर १४ देखि १९ वडामा घरदैलो गरिएको छ । वडा नम्बर १५ रानीगञ्ज र फर्साटिकरमा चुनावी सभाको आयोजना गरिएको राष्ट्रिय जनमोर्चाले जानकारी गराएको छ ।

रानीगञ्जमा आयोजित चुनावी सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले गणतन्त्र, राष्ट्रियताको रक्षा र संघीयताको खारेजीका लागि चुनाव चिन्ह गिलासमा मतदान गर्न आममतदाताई आग्रह गरेका छन् । देशले संघीयताको भार बोक्न नसक्दा विदेशीले बोकाएको संघीयता नेपाल र नेपाली जनताले थेग्न नसक्ने व्यबहारले देखाएकाले संघीयता खारेज गर्नपनि राष्ट्रिय जनमोर्चालाई भोट दिन आग्रह गरेका छन् ।

त्यस्तै बुटवल १५ मा आयोजित सभामा बोल्दै रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार बद्रे आलम मुसलवानले अहिलेको चुनावलाई सामान्य मान्न नहुने बताउंदै यो चुनावमा कसले जित्छ भन्ने भन्दा पनि देशले जित्छ की हार्छ भन्ने हो भन्दै देशलाई जिताउनका लागि राष्ट्रिय जनमोर्चालाई मत दिन मतदातालाई आग्रह गरेका छन् ।

अर्का वक्ता समानुपातिक तर्फका उम्मेदवार लिलाबहादुर केसीले यो देशको गणतन्त्र, राष्ट्रियताको रक्षा र संघीयताको खारेज गर्नका लागि मत खेर नफाली राष्ट्रिय जनमोर्चालाई मत दिन मतदातालाई आग्रह गरे ।

फर्साटिकरमा आयोजित सभामा बोल्दै नेकपा मसाल रुपन्देही प्रवक्ता लालचन पन्थले देश संकटमा परेको अवस्थामा देशलाई जोगाउने वा विदेशीको इसारामा चल्न दिने विषयमा गम्भीर भएर सचेतका साथ आफ्नो अमुल्य मत गिलास चिन्हमा मतदान गर्न आग्रह गर्दै हतारमा गल्ती गरेर फुर्सदमा पछुताउने काम नर्गन आममतदाताहरुलाई आग्रह गरेका छन्।