बुटवलमा नेपाली कम्युनिष्ट पार्टीको घरदैलो


बुटवल, फागुन १६ गते । रुपन्देहकिो बुटवलमा नेपाली कम्युनिष्ट पार्टीले चुनावी घरदैलो अभियानलाई जारी राखेको छ । रुपन्देही क्षेत्र न– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले शनिबार बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ का विभिन्न वस्तीमा आफ्नो पक्षमा मत माग्दै घरदैलो गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता बिश्वदीपले सयांै नेता कार्यकर्तासंगै घरदैलोमा पुग्दा आफूहरुले पाएको जनसमर्थन, माया र उत्साहले आफूहरु जीत नजिक पुगेको बताए ।
अबका सिमित दिनहरु विजयका लागि निकै महत्वपूर्ण रहेको भन्दै उनले मतदान सम्पन्न नहुँदासम्म मतदाता अत्यन्तै चनाखो रहनुपर्ने उल्लेख गरे । घरदैलोका क्रममा बुटवलका वडा नं १२ र १३ का विभिन्न टोल र वस्तीमा पुगेका उम्मेदवार पाण्डेले मतदातालाई आफ्नो भोट सुरक्षित गर्दै तारा चिन्हमा मतदान गरेर अग्रगामी परिवर्तनको पक्षमा उभिन आग्रह समेत गरे ।

रुपन्देही–२ निर्माणका लागि आफूलाई मतदान गरेर नेतृत्वको जिम्मेवारी दिने बेला नजिक आईपुगेको भन्दै उनले दीर्घकालीन हितका लागि सचेत र विवेकपूर्ण निर्णय लिन अपिल गरे ।
उम्मेदवार बिश्वदीपले घरदैलोका क्रममा विकास र सुशासनका विषयमा स्पष्ट धारणा राख्दै जनताका समस्या सुन्ने गरेका छन । यसपटकको निर्वाचनमा रुपन्देही क्षेत्र न–ं२ का जनताले नेतृत्व परिवर्तनको पक्षमा स्पष्ट रुपमा अभिमत प्रकट गर्न चाहेको उल्लेख गर्दै उनले परिवर्तनलाई संस्थागत गर्ने ऐतिहासिक दिन फागुन २१ गते विवेकपूर्ण निर्णय गर्न आग्रह गरे ।
तारा चिन्हका उम्मेदवार बिश्वदीपले घरदैलो अभियान अन्तिम चरणमा पुगेपनि जनताका दुःख–सुखमा साथमा रहने दिनहरु भने अब सुरु भएको धारणा राखेका थिए ।घरदैलोको क्रममा नागरिकले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारजस्ता आधारभूत क्षेत्रमा ठोस परिवर्तनको अपेक्षा राखेको पाईएको निर्वाचन परिचालन समितिका संयोजक नारायण जीसी निर्मलले बताए ।
निरन्तर घरदैलोमा रहेका नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले आज शनिबार बुटवल क्षेत्रका वडा नं १२ र १३ का टोल–टोल र वस्तीमा पुग्दै भोट मागेका छन् । उम्मेदवार घरदैलोमा पुग्न नसकेका ठाँउमा स्थानीय कार्यकर्ताले मतदाताको घरमा पुगेर आफ्ना उम्मेदवारको पक्षमा सहयोग मागेका छन् ।
झण्डा, माईक, व्यानर र प्रतिवद्धतापत्रसहित मतदाताका टोल–टोल र घर–घरमा पुगेर चुनावी ऐजेण्डा प्रस्तुत गर्ने गरिएको संयोजक जीसीले बताए । प्रत्येक दिन हरेक वडा र टोलमा उम्मेदवार नपुगे पनि घरदैलो अभियान जारी रहेको उनले उल्लेख गरे ।























