दुध उत्पादन बढाउन लुम्बिनीमा भैसीको वंस सुधार

श्यामलाल पोखरेल
बुटवल, चैत २६ गते । नेपालमा दुध दिने भैसीको संख्या ३२ लाख ९४ हजार ७ सय २४ रहेको सरकारी तथ्यांकले देखाएको छ । नेपाल सरकारको पशुसेवा विभागको तथ्यांक अनुसार भैसीको यो संख्याको ५७ प्रतिशत दुध उत्पादन र ३६ प्रतिशत मासुमा योगदान रहेको छ । अन्य देशको तुलनामा नेपालको औसत उत्पादन निकै न्यून रहेको पशु विज्ञहरुले बताएका छन् ।

कृषि तथा पशु पानलका लागि सम्भावित मानिने लुम्बिनी प्रदेशमा दुध दिने भैसीको संख्या ७ लाख ७० हजार २ सय छ । जसमा दुधालु भैसीको संख्या जम्मा २ लाख १८ हजार ९२ रहेको पशुपंक्षी तथा मत्स्य विकास केन्द्र निर्देशनालय प्रदेश कार्यालय बुटवलले जनाएको छ ।

निर्देशनालयका बरिष्ठ पशु चिकित्सक लोकराज भुसालका अनुसार अहिले लुम्बिनी प्रदेशमा वार्षिक रुपमा ३ लाख ५ हजार ५६ मेट्रीक टन भैसीको दुध उत्पादन हुन्छ ।

लुम्बिनीमा दुध दिने भैसीको संख्या धेरै भएपनि दुधालु भैसीको संख्या कम देखिएको छ । कृषि प्रदान देश नेपालमा दुधालु भैसीको संख्या कम हुन थालेपछि लुम्बिनी प्रदेशमा भैसीको वंस सुधार तथा उत्पादकत्व वृद्विका लागि अभियान सञ्चालन गरिने भएको छ ।

भैसीको दुधसंगै मासु, मल बढी काम लाग्ने भएकाले गाईबाट भन्दा भैसीबाट बढी फाइदा लिन सकिने र पाल्न पनि भैसी सजिलो हुने हुंदा भैसीको वंस सुधार गर्न सकिए दुधबाट सजिलै देश आत्मर्निभर बन्न सक्ने विज्ञहरुले बताएका छन् ।

दुध उत्पादन बढाउनका लागि भैसीको वंस सुधार कार्यक्रमलाई गोठगोठमा पुराउने पशुपंक्षी तथा मत्स्य विकास केन्द्र निर्देशनालय प्रदेश कार्यालय बुटवलले योजना बनाएकोछ ।

कम दुध दिने भैसीको वंस सुधार गरेर उत्पादन बढाउन सकिने भन्दै पशुपंक्षी तथा मत्स्य विकास केन्द्र निर्देशनालय बुटवलले बुधबार बुटवलमा पशुपंक्षी विज्ञ, प्राविधि कृषक तथा सरोकारवालासंग प्राविधिक कार्यशाला आयोजना गरेको छ ।

पशुपंक्षी क्षेत्रका विज्ञहरु प्रा.डा. श्रीराम न्यौपाने, डा. भूमिनन्दन देवकोाटा, डा. हेमराज अवस्थी, डा. निराजन भट्टराई र पशु पोषण विज्ञ तुल्सीराम भण्डारीले दुधको उत्पादन बढाउनका लागि भैसीको वंस सुधारबारे विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

एक दिने उक्त प्राविधिक कार्यशालाले लुम्बिनीमा रहेका कमसल खालका भैसीलाई घटाउने, दुधालु खालका भैसीको उचित व्यवस्थापन गर्ने, वंस सुधार गरेर कृतिम गर्भधारणा गराएर भैसीको दुध उत्पादन बढाउने निर्णय गरेको छ । आधुनिक ढंगले भैसी पालनका लागि कृषकहरुलाई सक्दो सहयोग गर्ने र भैसीलाइृ सन्तुलित पोषणको व्यवस्थाका लागि सरोकारवालाहरुसंग सहकार्य गरेर काम गर्ने योजना बनाईएको छ ।

उक्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका कृषि मन्त्री दिनेश पन्थीले परम्परागत रुपमा पालिएका भैसीबाट दुध उत्पादन कम हुने भएकाले उत्पादन बढाउने गरी व्यवस्थित तरिकाले भैसी पाल्नु पर्ने बताउंदै दुधालु भैसी पाल्न कृषकहरुलाई आग्रह गरे ।

मन्त्री पन्थीले भैसकिो वंस सुधार सम्भव रहेकाले बंस सुधारका लागि प्रदेश सरकार योजनाका साथ अगाडि बढेको बताए । उनले भैसीको दुध उत्पादन बढाउने उद्वेश्यले लुम्बिनीका पहाडी जिल्लालाई खोरेत मुक्त जिल्ला बनाउने प्रदेश सरकारको योजना रहेको बताउंदै मन्त्री पन्थीले भने – खारेत रोगका कारण भैसीले ४० देखि ५० प्रतिशत दुध घटाउने भएकाले खोरेत रोगनै उन्मुलन गर्ने योजना छ ।

पशुपंक्षी तथा मत्स्य विकास केन्द्र निर्देशनालय बुटवलका कार्यालय प्रमुख श्रवण चौधरीको अध्यक्षता र डा. नविन बस्यालको सञ्चालनमा यो कार्यक्रम भएको थियो ।