बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन

अनुमानित निर्माण लागत रु ५४ करोड ७८ लाख ४५ हजार ३८१

 

 

 

बुटवल/बुटवल उपमहानगरपालिकाको नवनिर्मित आधुनिक प्रशासकीय भवनको आज माघ ५ गते उद्घाटन हुदैछ ।
कोभिडको संक्रमण जोखिमका कारणले उद्घघाटन समारोह संक्षिप्त र भर्चुअलबाट गर्न लागिएको छ । भवनको उद्घाटन अनलाइनको भर्चुअल विधिबाट पूर्वअर्थमन्त्री तथा रुपन्देहीका सांसद एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गर्नुहुने छ ।

चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत रु ५४ करोड ७८ लाख ४५ हजार ३८१ रहेको थियो । निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले रु ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँ ८४ पैसामा २०७८ असारमा सक्ने गरी गत २०७७ असार ६ गते ठेक्का सम्झौता गरेका थिए तर कोभिडका कारण समयमा निमार्ण कार्य नसकिएको जनाइएको छ ।
भवनमा अन्डरग्राउण्ड मोटरसाइकल तथा कार पार्किङ, बाहिरी पार्किङ तथा दुई अलग–अलग स्थानमा लिफ्ट र दुईवटा सिँढीको प्रवन्ध रहेको छ भने मुल गेटलाई जितगढि किल्लाको झल्को दिने गरि निमार्ण भएको छ ।
उद्घाटन समारोह स्थलमा प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यहरु स्वास्थ्य मापदण्ड पालना गर्दै सरिक हुने जनाइएको छ ।
महानगरीय अवधरणाका साथ बुटवलले नयाँ भवन निर्माण गरेको दावी छ । उक्त भवनको शिलान्यास पनि नेता पौडेलले नै गरेका हुन । पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्यनजर गरि नयाँ भवन निर्माण गरिएको हो ।
बुटवल उपमहानगरपालिकाको हाल रहेको पुरानो भवनको दक्षिणभागमा रहेको पार्क हटाएर नयाँ अत्याधुनिक कार्यालय भवन निर्माण गरिएको हो । करीब तीन बिगाहा क्षेत्रफलमा निमार्ण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य छ वटा ब्लक रहने व्यवस्था गरिएको छ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएको हो ।