देवदह क्रिकेट क्लब ‘ए’ डिभिजनमा उक्लियो

भैरहवा, चैत्र ३० गते । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा देवदह क्रिकेट क्लब पनि ‘ए’ डिभिजनमा उक्लिएको छ । ‘बी’ डिभिजनको सोमबारको खेलमा स्टार क्रिकेट क्लबलाई ४१ रनले हराउँदै देवदह ‘ए’ डिभिजनमा बढुवा भएको हो । यसअघि बुद्ध क्रिकेट क्लब ‘ए’ डिभिजनमा बढुवा प्रवेश भइसकेको छ ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको देवदहले ४९ ओभर ५ बलमा सबै विकेटको नोक्सानीमा १ सय ७२ रनको बलियो योगफल बनायो । उसका लागि कृष्ण कार्कीले ४१, सुरज खड्काले ३५, संकेत भट्टराईले २८ र शशिधर टण्डनले १२ रन बनाए । बलिङमा स्टारका तुलबहादुर थापाले ३ तथा फैजन खान, शुभम खनाल र सिद्धार्थ ढकालले समान २–२ विकेट लिए ।

जवाफी बयाटिङ गरेको स्टार ४५ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३१ रनमै रोकियो । उसका लागि शुभम खनालले ३२, समिप पौडेलले २२, कृष्ण विक र विन्दराम यादवले समान १९–१९ तथा तुलबहादुर थापाले १० रन बनाए । बलिङमा देवदहका कृष्ण पराजुलीले ४ तथा सुदीप अर्याल र कृष्ण कार्कीले समान ३–३ विकेट हात पारे । खेलमा कृष्ण कार्की प्लेयर अफ द म्याच घोषित भई एक हजार दुई सय रुपैयाँ हात पारे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद एक लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग बाणिज्य संघले प्रायोजन गरेको छन् ।

यस्तै, म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रविकुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित गुप्ताले गरेका छन् ।