विज्ञापन रोक लगाउने सरकारको विभेदकारी निर्णय मान्दैनौ
ज्ञानकाशी पत्रकारिता पुरस्कारबाट पत्रकार रेखा भुसाल सम्मानित


बुटवल, चैत ३० गते । नीजि क्षेत्रबाट सञ्चालित मिडियाहरुलाई सरकारी विज्ञापनमा रोक लगाउने सरकारको निर्णय गलत र प्रेस बिरोध भएको भन्दै रुपन्देहीका पत्रकारहरुले सरकारको निर्णय नमान्ने बताएका छन् ।

संविधान र लोकतन्त्र बिरोधी निर्णय गरेर बालेन सरकारले मिडियामाथि अंकुश लगाउन खोजेको बताउंदै उनीहरुले सरकारलाई उक्त निर्णय फिर्ता लिन माग गरेका छन् । तिलोत्तमा मिडिया क्लवले आयोजना गरेको पत्रकारहरुको क्षमता विकास कार्यक्रममा सहभागी पत्रकारहरुले सरकार मिडिया बिरोधी देखिएको बताए ।
पत्रकारहरुका लागि एक दिने क्षमता अभिवृद्दि कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले संघीय सरकारका निर्णय मान्ने हो भने स्थानीय सरकार चलाउन नसकिने बताए । नगर प्रमुख खांणले लोकतन्त्र ल्याउन बचाउन अहिलेसम्म पत्रकारहरको भूमिका महत्वपूर्ण रहेको बताउंदै मोफसलका स्थानीय मिडियाहरु बचाउनका लागि सहयोग गर्ने प्रतिबद्दता जनाए ।

स्व. डायलसन स्मृति पत्रकारिता पुरस्कारको कार्यविधि बनाएर तत्काल कार्यान्वयनमा ल्याउने नगर प्रमुख खांणले बताउंदै जिम्मेवार र विश्वासिलो पत्रकारिताले लोकतन्त्र बलियो हुने बताए ।
तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी चौधरीले पत्रकारिता जिम्मेवार पेशा भएको बताउंदै पत्रकार निष्ठावान र निष्पक्ष हुनुपर्नेमा जोड दिइन ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पाखरेलले सरकारले ल्याएको मिडियाप्रतिको विभेदकारी नीति मान्न नसकिने बताए । विज्ञापनमा रोक लगाउने निर्णय गरेर सरकार संविधान र लोकतन्त्र बिरोधी बाटोमा हिडेकाले यस्तो सरकारलाइ मिडियाको तर्फबाट सहयोग गर्न नहुने बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चापागाईंले संघीय सरकार मिडियाप्रति अनुदार देखिएकाले वर्तमान अवस्थामा स्थानीय मिडियालाई जोगाउने दायित्व स्थानीय सरकारको काँधमा जिम्मेवारी थपिएको बताए । उनले मिडियाप्रति जिम्मेवार भएर काम गर्न स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् ।
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता ः भाषा, शैली, सिद्धान्त र अभ्यासबारे सहजीकरण गरेका थिए ।
पत्रकारहरुको भाषिक दक्षता अभिवृद्धिका लागि क्लवले तिलोत्तमा नगरपालिकाको सहयोगमा क्षमता विकास कार्यक्रम आयोजना गरेको हो ।
उक्त कार्यक्रममा तिलोत्तमा मिडिाय क्लवको सहकार्यमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चपागाईले आफ्ना बुपा आमाको स्मृतिमा स्थापना गरेको ज्ञानकाशी पत्रकारिता पुरस्कार २०८२ काट पत्रकार रेखा भुसाललाई सम्मान गरिएको छ । 
पुरस्कार ग्रहण गर्दै पुरस्कृत पत्रकार रेखा भुसालले पुरस्कारले पेशाप्रति झनै जिम्मेवार बनाएको बताइन ।
क्लवका अध्यक्ष बीपी गौतमको अध्यक्षता, उपाध्यक्ष टोपराज शर्माको स्वागत र सचिव कल्पना तिवारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।























