फुटपाथ पसलहरु हटाउन बुटवलमा डोजर चलाईयो


बुटवल, बैशाख २ गते । बुटवलमा फुटपाथ पसलहरु डोजर लगाएर हटाईएको छ । सडक छेउंमा साना तथा खुद्रा पसल चलाउंदै आएका व्यवसायीलाई बुटवल उपमहानगरपालिकाले हट्न भन्दै आग्रह गरेको थियो । उपमहानगरले आग्रह गर्दापनि सडक छेउ तथा पेटिमा जथाभावी व्यापार गर्नका लागि दैनिक जसो लगाइने ठेला तथा अन्य व्यवसाय गर्दा सडक प्रयोग गरिएको थियो ।

सडक छेउमै समान राखेर राखेर बिक्री गर्ने प्रवृत्ति बढेपछि पैदल यात्रुलाई हिँडडुलमा समस्या हुन थालेको थियो । ठेला व्यवसायदेखि सटरमा पसल गर्नेहरुले सडक प्रयोग गरेपछि उपमहानगरले पटक पटक हट्न आग्रह गरेको थियो । तर नहटेपछि बुधबार डोजर प्रयोग गरेर हटाईएको हो ।
उपमहानगरपालिकाको अगुवाइमा विभिन्न संघसंस्था, व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिबीच अव्यवस्थित व्यापार हटाउने निर्णय अनुसार डोजर चलाईएको बुटवल उपमहानगरले बताएकोछ ।
सडक छेउमा व्यापार व्यवसाय गर्ने सबैलाई पूर्व जानकारी गराईएको थियो , फुटपाथ व्यापार हटाउन नमानेपछि डोजर चलाइृएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए । उपमहानगरपालिकाले यस अघि नै सडक छेउमा व्यापार नर्गन आग्रह गर्दै २ गतेसम्म हट्नका लागि सूचना जारी गरेको थियो । बुटवल बजारको सौन्दर्यमा समेत नकारात्मक असर पारेपछि कारवाहीमा उत्रनु परेको प्रमुख पाण्डेले बताए ।

पहिलो चरणमा ठेला र फुटपाथ व्यापार हटाइने र दोस्रो चरणमा सडकमा छाडा छोडिएका गाई–बस्तुको व्यवस्थापन गरिने बुटवल उपमहानगरपालिकाले बताएको छ ।























