रास्वपा रुपन्देहीको प्रथम जिल्ला अधिवेशन जेठ २४ गते मणिग्राममा, बलियो किल्लाका रुपमा संगठन विस्तार


बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको प्रथम जिल्ला अधिवेशन जेठ २४ गते मणिग्राममा हुने भएको छ । वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपालाई यस प्रथम जिल्ला अधिवेशनले थप संगठित र सुदृढ बनाउने अपेक्षा गरिएको छ । अधिवेशनले जिल्ला समितिमा नयाँ नेतृत्व चयन गर्नुका साथै जिल्लाका निर्वाचन क्षेत्र समितिहरुलाई समेत थप व्यवस्थित बनाउँदै क्षेत्रीय समितिहरुको पुनर्गठनको प्रक्रियालाई अगाडि बढाउने बताइएको छ ।

जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माका अनुसार रुपन्देहीमा पार्टीको संगठन निर्माणले ऐतिहासिक फड्को मारेकोले पार्टीको बलियो किल्लाको रुपमा हेरिएको बताउँदै अधिवेशनले पार्टीलाई अझ बढी एकीकृत र संगठिंत बनाउने अपेक्षा गरिएको बताए । अध्यक्ष डा. शर्माले भने, रुपन्देहीमा हामीले वडा तहसम्म बलियो संगठन निर्माण गरेका छौँ, यो ऐतिहासिक प्रथम अधिवेशनले हामीलाई अझ संगठित, अनुशासित र वैकल्पिक शक्तिको रुपमा अझ सशक्त भएर जनताको सेवामा लाग्न ऊर्जा प्रदान गर्नेछ ।
जिल्लाका सबै स्थानीय पालिकाहरुमा पार्टीका समितिहरु गठन भइसकेका छन् । यसका साथै जिल्लाका अधिकांश करिब ८५ प्रतिशत वडाहरुमा समेत अधिवेशन सम्पन्न भइसकेका छन् । बाँकी वडाहरुमा तदर्थ समिति गठन गरी संगठनलाई निरन्तर सक्रिय बनाइएको छ, उनले थपे ।

रास्वपाले जेठ महिनाभित्र वडादेखि प्रदेशसम्मको अधिवेशनहरु सम्पन्न गर्ने कार्यतालिका बनाए अनुसार देशैभर एकै पटक अधिवेशनहरु सम्पन्न भइरहेका छन् । गत आम निर्वाचनमा जिल्लाका पाँचै वटा निर्वाचन क्षेत्रहरुमा जित हासिल गरेको रास्वपाले जिल्लाबाट थप पाँच समानुपातिक सांसदहरु प्राप्त गर्न सफल भएको थियो ।
आम निर्वाचनमा गतिलो प्रदर्शन, छोटो समयमै दरिलो सङ्गठन र बढ्दो जनविश्वासका कारण रास्वपा रुपन्देहीका पार्टी सदस्यहरुमा उच्च मनोबल र उत्साह देखिएको बेला जिल्लामा पार्टीलाई संगठनको रुपमा मात्र बलियो बनाउने नभई जनकेन्द्रित बनाउन खोजिएको बताइएको छ ।






















