मानवअधिकार आयोगका सिफारिसलाई कार्यान्वयन गर्न सभापति थापाको जोड


काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन तथा सिफारिसहरुको प्रभावकारी र पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

शुक्रवार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा आयोगका सिफारिसहरुकार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको र दोषीहरु सजायबाट उम्किएको अवस्था दोहोरिन नहुने बताएका छन् ।
उनले मानव अधिकारका विषयमा पार्टी अब नयाँ सोचका साथ अघि बढिरहेको उल्लेख गर्दै कुनै पनि परिस्थितिमा दोहोरो मापदण्ड स्वीकार्य नहुने स्पष्ट पारे । थापाले मानव अधिकार आयोगका निष्कर्ष र सिफारिसलाई गम्भीर रुपमा लिने प्रतिबद्धता जनाउँदै आगामी दिनमा राज्यका निकायहरुले जिम्मेवारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले आयोगले जाँचबुझ आयोगकै अध्यक्षमाथि प्रश्न उठाएको सन्दर्भ उल्लेख गर्दै ‘कार्की आयोग’को प्रतिवेदनको निष्पक्षतामाथि शंका व्यक्त गरे । साथै, आम निर्वाचनअघि आयोगको प्रतिवेदन सार्वजनिक नभएको विषय उठाउँदै त्यसमा कुनै नियत ९इण्टेन्सन० थियो कि थिएन भन्ने प्रश्नसमेत गरेका छन् ।
सभापति थापाले राज्य पक्षबाट भएका बल प्रयोगका क्रममा सीमा उल्लंघन र गम्भीर मानव अधिकार हनन भएको स्वीकार गर्दै यस्ता घटनामा कानूनअनुसार अनुसन्धान र कारबाही हुनुपर्ने धारणा राखे । उनले आन्दोलनका क्रममा भएका घटनालाई एकतर्फी रुपमा नभई परिस्थितिजन्य आवेग र उत्तेजनाको सन्दर्भमा पनि मूल्यांकन गर्नुपर्ने बताए ।
भदौ २३ र २४ गतेका घटनाले ठूलो मानवीय क्षति पुर्याएको उल्लेख गर्दै उनले पीडित परिवारको पीडाप्रति गहिरो संवेदनशीलता आवश्यक रहेको बताए । नागरिकका न्याय सुनिश्चित गर्ने विषयलाई पार्टीले उच्च प्राथमिकतामा राख्ने र आगामी दिनमा व्यवहारमै प्रतिबद्धता प्रमाणित गर्दै जाने उनको भनाइ छ ।























