तिलोत्तमा नगरपालिकाद्वारा  सभाहल निर्माण

तिलोत्तमा, फागुन१८गते।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अतिथि गृह तथा सभाहल निर्माण गरेको छ। नगरपालिकाले वडा नं. ९ को केवलानीमा १६ कोठाको अतिथि गृह र १२ सय जना अट्ने क्षमताको सभाहल निर्माण गरेको हो।हाल सभाहलमा कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास व्यवस्थापन गरिएको छ।कोरोना महामारीको दोस्रो लहरमा नगरपालिकाले सभाहलमा ६० बेडको अस्थायी कोरोना अस्पताल निर्माण गरेको हो। महामारी पूर्णरुपमा अन्त्य भएपछि सभाहल तथा अतिथि गृहलाई उद्देश्य अनुरुप सञ्चालन गर्ने नगरपालिकाको तयारी छ। नगरपालिकाले दुई बिगाहा क्षेत्रफलमा अतिथि गृह र सभाहलको संरचना तयार गरेको हो।

नगरपालिकाका योजनाप्रमुख ईञ्जिनियर प्रदीप वनका अनुसार अतिथि गृहको लागत दुई करोड २२ लाख तथा सभाहलको लागत एक करोड ५७ लाख रहेको छ। अतिथिगृह तथा सभाहलको बुधबार एक कार्यक्रमबीच प्रतिनिधिसभा सदस्य छबिलाल विश्व कर्माले उद्घाटन गरेका हुन्।त्यस अवसरमा पूर्वमन्त्री समेत रहनुभएका विश्व कर्माले तिलोत्तमा नगरपालिकाले नगरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिकलगायत सबै क्षेत्रमा प्रभावकारी काम गरेको बताए। कार्यक्रममा प्रदेश सांसद रमा अर्याल, पूर्व प्रदेश सांसद दधिराम न्यौपाने लगायतले विकास निर्माण तथा महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिकाको बारेमा बोलेका थिए। नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षता, उपप्रमुख जगेश्वरदेवी चौधरीको स्वागत तथा प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा कार्यक्रम भएको हो।