नेकपा एमालेका महिला नेतृत्व, जो तिलोत्तमाको उपप्रमुखका लागि चर्चामा छन् !

तिलोत्तमा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै पालिकाहरुमा नेतृत्वको चर्चा सुरु भएको छ । लगातार दुई पटक उत्कृष्ट नगरपालिकाको उपाधि पाएको तिलोत्तमामा नेतृत्वका आकांक्षीहरु बढ्दै जाने क्रम सुरु भएको छ ।
प्रमुख को बन्ने भन्ने चर्चा बढिरहेका बेला उपप्रमुखमा को को आकाक्षी छन ? भन्ने चासो समेत बढेको छ । राजनीतिक समीकरण कस्तो बन्नेमा अझै पनि पार्टीहरु स्पष्ट भैसकेका छैनन् । जसका कारण पालिकाहरुको नेतृत्व तथा सह–नेतृत्वमा को आउँछ भन्ने स्पष्ट हुन समय लाग्ने देखिएको छ ।

तिलोत्तमा नगरपालिकामा नेकपा एमालेको तर्फबाट उपप्रमुखका लागि तीन जना महिला नेतृत्वको चर्चा बढेको छ । जस मध्येको एउटा नाम हो संगिता गुरुङ । तिलोत्तमा वडा नम्वर ६ मा स्थायी बसोवास रहेकी गुरुङको पृष्ठभूमि शैक्षिक क्षेत्र हो । लामो समय शिक्षण पेशामा आवद्ध गुरुङ तिलोत्तमा नगरपालिका नगरकार्यपालिका सदस्यका रुपमा हाल कार्यरत छन् । नगर कार्यपालिकामा रहेर काम गर्दा धेरै कुरा सिकेको र उपप्रमुखको जिम्मेवारी पाए सफलतापूर्वक काम गर्न सक्ने उनको दावी छ ।

शिक्षक संगठनमा रहेर लामो समय काम गरेकी उनी जनजाति समुदायको प्रतिनिधित्व गर्न सक्ने उम्मेद्धारका रुपमा देखिएकी छन् । नेकपा एमाले नगर कमिटी उपसचिवका रुपमा हाल कार्यरत उनीमा राजनीतिक समन्वय गर्न सक्ने क्षमता समेत छ । महिलाहरू भित्र मात्र होइन संगठित रुपमा काम गर्न सक्ने क्षमता भएकी शालीन व्यक्तिका रुपमा उनलाई चित्रण गर्ने गरिन्छ । गुरुङको नेतृत्वलाई जनजाति समुदायले मात्र नभई अन्य समुदायले समेत स्वीकार गर्न सक्ने विश्वास गरिएको छ । उनी नगरपालिकाको उपप्रमुखमा आउने सम्भावना बढेर गएको देखिएको छ ।

तिलोत्तमा नगरपालिकाको उपप्रमुखको रुपमा चर्चामा रहेकी अर्की पात्र हुन् उपप्रमुखका रुपमा रहेकी जागेश्वरी देवी चौधरी । उनी पनि सक्षम र सफल नेतृत्व दिन सक्ने नेताका रुपमा परिचय बनाइसकेकी छन् । शान्त स्वभाव, गर्विलो प्रस्तुतीले उनी सधै पार्टीमा समेत प्रभाव जमाउन सक्ने नेताका रुपमा चिनिन्छिन् । नेतृत्वको विषयमा भने उनले तिलोत्तमा नगरपालिकाको प्रमुख कै दावी प्रस्तुत गर्दै आएकी छन् । उपप्रमुखका रुपमा काम गरिसकेकी चौधरी स्वभाविक रुपमा माथिल्लो तहको अपेक्षा राखेकी छन् ।

नेकपा एमालेको रुपन्देही जिल्ला उपाध्यक्ष रहेकी उनी जिल्ला सचिवको रुपमा काम गरेको उनुभवी पात्र हुन् । पार्टी नेकपा(नेकपा) हुँदा समेत जिम्मेवारी पूर्वक काम गरेकी थिइन् । चौधरी समुदायबाट उठेकी सशक्त नेतृत्वका रुपमा पनि उनलाई चित्रण गरिन्छ । उनका लागि जनप्रतिनिधिका रुपमा धेरै अवसरहरु देखिएका छन् । नगरपालिकाको प्रमुखका रुपमा उनले दावी गरिरहेकी छन् । उनका लागि नगरप्रमुखसँगै प्रदेशसभामा सदस्यको अवसर समेत रहेको आकलन गरिएको छ । समानुपातिक तर्फको प्रदेश सांसदको अवसर समेत उनका लागि खुल्ला रहेको छ । तिलोत्तमा नगरपालिकाको उपप्रमुख मै दोरिने इच्छा भएमा उनको पनि सम्भावनालाई नर्कान सकिने अवस्था छैन् ।

तिलोत्तमा नगरपालिकाका उपप्रमुखका रुपमा चर्चामा रहेको अर्को महिला नेतृत्व हो, जमुना लम्साल । तिलोत्तमा नगरपालिका वडा नम्वर ७ स्थायी घर भएकी लम्साल हाल जिल्ला समन्वय समिति रुपन्देहीमा कार्यरत छन् । पार्टीको अलस कार्यकर्ताका रुपमा परिचय बनाएकी उनी मिलनसार नेताका रुपमा पनि परिचित छन् । छिटो प्रतिकृया नदिने उनी कुटनीतिक क्षेत्रमा दखल राख्ने स्वभाव की मानिन्छन् ।

नेकपा एमालेका तर्फबाट तिलोत्तमा नगरपालिको उपप्रमुखका लागि समेत उनको नाम चर्चामा छ । उनलाई जिल्ला समन्वय समितिमा काम गरेको अनुभवका आधार नगरपालिकाका उपप्रमुखको जिम्मेवारी बहन गर्न सक्ने नेताको रुपमा चित्रित गर्ने गरिएको छ । लम्साल पनि तिलोत्तमा नगरपालिकाको नेतृत्व लिनका लागि आकाक्षी र सम्भावित पात्रका रुपमा रहेकी छन् । उपप्रमुखको रुपमा आउने उनको पनि सम्भावना देखिएको छ ।

यस बाहेकका पात्रहरुका बारेमा समेत छलफल र चर्चा भएका छन् । पार्टीले कस्लाई टिकट दिने भन्ने बारेमा निर्णय गरिसकेको अवस्था छैन् । सार्वजनिक कार्यक्रम, समाजिक संजाल, प्रत्यक्ष भेटघाट तथा छलफलका क्रममा उनीहरुको उपप्रमुखका रुपमा दावी तथा आकांक्षा प्रकट हुने गरेको छ भने कतिपयको पार्टी तथा समुदाय स्तरबाट चर्चा सुरु भएको छ ।