तिनाउको पहिलो निर्णय निःशुल्क एम्बुलेन्स सेवा

आर्थिक वर्षको साउन १ गतेदेखि लागू

 

 

पाल्पा–तिनाउ गाउँ कार्यपालिकाको कार्यालय, पाल्पाले विभिन्न महत्वपूर्ण निर्णय गर्दै पहिलो कार्यपालिका बैठक दोभानमा सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकले तिनाउ गाउँपालिकाभित्र रहेका स्थानीय ब्यक्तिहरु कुनै कारण दुर्घटनामा परेमा बुटवल, भैरहवा र तानसेन, पाल्पासम्म उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने लोकप्रिय निर्णय गरेको छ ।


साथै गर्भवती महिलाहरुलाई सुत्केरी एवम् थप चिकित्सकीय सेवाका लागि समेत तानसेन, पाल्पा र बुटवल भैरहवासम्म एम्बुलेसन्स सेवा निःशुल्क दिने आजकै कार्यपालिका बैठकले गरेको छ । सोका लागि आवश्यक कार्यविधि बनाइ नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।
त्यसैगरी बैठकले तिनाउ गाउँपालिकाभरि रहेका लिफ्टिङ्ग खानेपानीमा लाग्ने विद्युत महसुलमा २५ प्रतिशत् रकम गाउँपालिकाले अनुदान दिने निर्णय गरेको छ ।


निवर्तमान पदाधिकारी एवम् सदस्यहरुलाई नवनिर्वाचित गाउँपालिकाका पदाधिकारी एवम् प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले हार्दिकतापूर्ण बिदाई गरेका छन् । गाउँपालिकाका निवर्तमान अध्यक्ष ओमबहादुर घर्तिमगरले आफूहरुले तिनाउको विकासका निम्ति सबैसँग मिलेर काम गरेको र कुनैपनि विवास्पद निर्णय गर्न नपरेको बताउँदै नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई तिनाउको एकीकृत विकासमा लाग्न अनुरोध गरे ।